काठमाडौं, १५ चैत । प्रहरीले पहिलो पटक लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ सम्झाइ-बुझाइ गरी बेलुकीसम्म छाड्ने गरेको छ ।
तर लकडाउनलाई अटेर गरी पटकपटक बिनाकारण बाहिर निस्केकाहरूलाई भने प्रहरीले कारबाहीको लागि कानुनी प्रक्रिया अघि बढाउने बताएको छ ।
शनिबार थानकोट प्रहरी वृत्तमा लकडाउन उल्लंघन गर्नेलाई परिसरबाहिर उभाएर राखिएको थियो । अन्यले पनि उल्लंघन गरे यसरी नै राखिने वृत्तले जनाएको छ ।
शुक्रबार नियन्त्रणमा लिइएकाहरूलाई पनि सामान्य जाँच गरी बेलुकीसम्म छाडिएको परिसरका डिएसपी बोगटीले बताए ।
शनिबार बिहानदेखि उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको उल्लंघन गर्ने चार सय ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, ट्राफिक प्रहरीले एक सय सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको छ ।
ट्राफिक प्रहरी महाशाखाले शनिबार बिहान ११ बजेसम्ममा एक सय सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।
त्यसमध्ये दुई पाङ्ग्रे सवारीसाधन ९६ र चार पाङ्ग्रे सवारीसाधन रहेको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले अतिआवश्यक काम बाहेकका सवारीसाधनलाई नियन्त्रणमा लिँदै आएको हो ।
प्रतिक्रिया