प्युठान, १८ चैत । कोरोना सं’क्रमितहरू आउन नसकुन भन्ने सोचकासाथ प्युठानको स्वर्गद्वारी नगरपालिका-५ का वडाअध्यक्ष हिरामणि भण्डारीले सोमबार भत्काउन लागाएको पुलको समाचार भाइरल भएपछि फेरी जोड्न लगाएका छन् ।
वडाध्यक्षले केहि मानिस बोलाएर रोल्पा र प्युठान जोड्ने लुम्दी खोलाको झोलुंगे पुल धमाधम भत्काएका हुन् ।
‘चोर बाटोबाट मानिसहरू आउन थालेका वडामा को आयो को गयो थाहा नहुने भएकाले पुल भत्काउन लगाएको हुँ,’ भण्डारीले मंगलबार भने,‘त्यो पुलबाट भारत र रोल्पातिरबाट धेरै मानिस नआऊन् भनेर त्यस्तो गरेको हो ।’
उनले आफ्नो वडामा रहेका पाँचमध्ये एउटा झोलुंगे पुलमात्र भत्काइएको बताए ।
‘त्यो यहाँका मान्छेलाई अपायक पर्ने पुल थियो । रातिराति पनि मान्छे हिँड्न थालेकाले भत्काउन लगाएको हुँ,’ उनले भने ।
यसअघि विभिन्न ठाउँमा आफ्नो टोलमा पस्न नदिन स्थानीयले सडक खन्ने, बन्द गर्ने गरेका थिए । तर कोरोना रोकथाम गर्ने भन्दै वडाध्यक्षले पुल भत्काउन लगाएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भयो ।
‘यहाँका जनताले त केही विरोध गरेका छैनन् तर बाहिरकाले विरोध गरेर फेसबुकमा भाइरल बनाए छन् । मुख्यमन्त्रीसम्म नै कुरा पुर्याएपछि आज पुल जोड्न लगाएको छु,’ वडाध्यक्ष भण्डारीले भने,‘पाता राखिसकिएको छ। अब कस्न बाँकी छ ।’
प्रतिक्रिया