कोरोनाको उपचारमा प्रदेश नं १ सरकार

कोरोनाको उपचारमा प्रदेश नं १ सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड–१९ को खोज, परीक्षण र उपचारसँगै लगेको कारण प्रदेश नं १ ले यसमा सफलता पाएको छ । प्रदेश नं १ को उदयपुरको बेलमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेट्टिएपछि प्रदेश सरकारले यसमा गम्भीर भएर लागेको र उनीहरुमध्ये कसैले पनि ज्यान गुमाउन नपरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ठूलो सङ्ख्यामा उदयपुरमा देखिएका कोरोना सङ्क्रमित भारतीय नागरिक थिए । उनीहरु नेपाल र भारतमा कोरोनो महामारी फैलिनुभन्दा अगाडि नै भारतको दिल्ली मर्कज (धार्मिक केन्द्र) बाट विराटनगर हुँदै उदयपुरको बेल्का पुगेका थिए । धार्मिक कार्य गर्न भारतबाट १३ जनाको जमात (समूह) बनाएर आएका ती जमातीलाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षाका साथ कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । कोरोना उपचारपछि निको भएका सङ्क्रमित अस्पतालबाट फर्किँदा अनुहारमा निकै खुशी थिए । त्यस समयमा प्रदेश सरकारले कोरोना उपचारका लागि १२ दिनमै कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बनाएको थियो । त्यस समयमा सो उपचार केन्द्रमा ३१ जना उपचारमा थिए ।

प्रदेश नं १ मा पहिलो पटक वैशाख ५ गते कोरोना सङ्क्रमण देखिएको थियो भने अहिलेसम्म आइपुग्दा प्रदेशमा सोमबार मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित देखिनेमा मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक÷एक जना छन् । मन्त्रालयका अनुसार यसरी सङ्क्रमण देखिएकामा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको बाह्रदशीका दुई, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक/एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९४५ पुगेको छ भने निको भई घर फर्कने ७४७ जना रहेका छन् । प्रदेशमा आज ५१८ जनाको पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको उपचारका लागि सात वटा आइसोलेशन केन्द्रहरु स्थापना गरिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पूर्वाञ्चल विश्वविद्यालय कोभिड– १९ आइसोलेशन अस्पताल गोठगाउँ मोरङ, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगर, कोभिड–१९ आइसोलेशन केन्द्र, चौदण्डीगढी उदयपुर, उद्योग वाणिज्य सङ्घ, फुङलिङ अस्थाई केन्द्र (ताप्लेजुङ) र जिल्ला अस्पताल खोटाङ अस्थाई केन्द्र स्थापित गरिसकेको छ । प्रदेश नं १ को सरकारले काठमाडौँ बाहिर पहिलो पटक कोभिड–१९ को उपचारको प्रबन्ध मिलाएको थियो ।

कोभिड–१९ लाई पूर्णरुपमा रोकथाम, उपचार एवं नियन्त्रणका लागि प्रदेश सरकारलाई तिब्बत सरकारले रु १० करोड बराबरको सहयोग गरेको थियो भने स्वीस सरकारले रु ९० लाख बराबरको दुई थान अत्याधुनिक पिसीआर मेशिन उपलब्ध गराएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले सङ्क्रमित भएर उपचार गरेर घर फर्कने अनुपात यस प्रदेशमा निकै सन्तोषजनक रहेको उल्लेख गर्दै भन्नुभयो, “हामी अझ सकारात्मक दिशाबाट अघि बढिरहेको छ ।” उहाँले भारतमा कोरोनाको रोकथाम नभएसम्म नेपालमा यसको चुनौती कायम रहिरहने भन्दै कोरोनाबाट बच्न र बचाउन मानिसले भौत्तिक दूरी कायम गर्नुपर्ने र स्वास्थ्य आचार संहिता पालना गर्नुपर्ने बताउनुभयो ।

सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा निजी तहबाट सबैभन्दा पहिले उद्योगी एवम् समाजसेवी राजेन्द्र राउतले रु १० लाख सहयोग गरेको सो कोषमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख उपसभामुख, सत्तापक्षका सबै सांसद र प्रतिपक्षका सांसदहरु तथा कर्मचारीहरुले आफ्ना पारिश्रमिक दिएर सहयोग गर्नुभएको थियो । रु ३३ करोड ५४ लाख जम्मा भएको र सोमध्ये रु २७ करोड ३३ लाख ८९ हजार खर्च भएको मुख्य सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो ।

कोषमा प्रदेश सरकारले रु २५ करोड जम्मा गरेको थियो । पछिल्लो समयमा सो सूर्य नेपाल प्रालिले रु एक करोड जम्मा गरेको छ । कोरोना उपचार कोषको बारेमा सदनमा प्रतिपक्षका सांसदले खर्चको विवरण माग गर्नुभएको थियो । जवाफमा मुख्यमन्त्री शेरधन राईले कोषको रकम पारदर्शी ढङ्गले खर्च भएको बताउनुभयो । उहाँले कोषको रकम खबरदारी, निगरानी र जवाफदेहीताका साथ कोभिड रोकथाम, नियन्त्रणमा र उपचारमा खर्च भएको जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण स्थानीय तहमा राहत वितरण गर्न प्रदेश सरकारले एकद्वार प्रणालीमार्फत स्थानीय तहलाई रु नौ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । जसमा महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिका रु १५ लाख, नगरपालिका रु १० र गाउँपालिकालाई रु पाँच लाखका हिसाबले रकम निकासा गरेको थियो ।रासस