कुतियारकवरवासीको आम्दानीको स्रोत : ‘बेसार खेती’

कुतियारकवरवासीको आम्दानीको स्रोत : ‘बेसार खेती’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पैँतीस परिवार बसोबास रहेको कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरवासीले व्यावसायिकरूपमा बेसार खेती गरेर आम्दानी गर्दै आएका छन् । भौगोलिकरूपले निकै विकट र दलित तथा आर्थिकरूपले विपन्न कुतियाकवरवासीले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि गरिएको बन्दका कारण बेसार बिक्री वितरणमा समस्या भइरहेको दुःखेसो पोखेका छन् । भारतसित सिमाना जोडिएको उक्त गाउँमा स्थानीयवासीले अन्नबाली भन्दा पनि बेसार खेतीलाई नै अँगाल्दै आएका छन् ।

कुतियाकवरका टेकबहादुर सुनारले गाउँमा दुई दशकदेखि कृषकहरुले नगदेबालीका रूपमा बेसार खेती गरिरहेको बताउनुभयो । भारतमा रोजगारी गरेर परिवारको खर्च जोहो गर्ने स्थानीयवासीले बेसारसँगै तरकारी खेती गर्ने गरेको सुनारको भनाइ छ । “हाम्रो यहाँ उत्पादन भएको बेसार भारतीय बजारमा निर्यात हुने गरेको थियो”, सुनारले भन्नुभयो, “लकडाउनका कारण अहिले बिक्री वितरणमा समस्या छ ।”

उहाँले बन्दाबन्दीका कारण महेन्द्रनगर र आसपासका बजारमा खपतको समस्या रहेको बताउनुभयो । “गाउँको तीनतिर भारत पर्छ”, उहाँले भन्नुभयो, “यता नेपालतर्फ जोगबुढा नदी पर्ने भएकाले यहाँ राज्यको पनि ध्यान पुगेको छैन ।” विसं २०२२ देखि सीमा रक्षकका रूपमा बसोबास गर्दै आएको बताउँदै उहाँले केही समयअघि जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि कुतियाकवरवासी जिल्लाको मूलधारसित जोडिएको जानकारी दिनु्भयो ।

“अन्नबालीभन्दा सहज र राम्रो हुनाले अहिले गाउँभरि नै बेसार खेती लगाइएको छ”, उहाँले भन्नुभयो, “यो खेती जीव जन्तुबाट पनि जोगाउन सजिलो हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको हो ।” एक कठ्ठाबाट बेसार खेती शुरु गरेका सुनारले अहिले डेढ बिघा क्षेत्रफलमा बेसार खेती लगाएका छन् । “मैले बेसार खेतीबाटै १० वर्षयता छोराछोरीको पढाइलेखाइदेखि घरको खर्च चलाउँदै आएको छु”, उहाँले भन्नुभयो, “बेसार बेचेर नुनतेल चलेको छ ।”

त्यसैगरी स्थानीय वीरबहादुर सुनारले पनि बेसार र तरकारी खेती गर्नुभएको छ । “सडक सञ्जालसित गाउँ नजोडिएकाले अन्नबालीका लागि कृषि औजार ल्याउन पनि सकिँदैन”, उहाँले भन्नुभयो, “बर्सातमा जोगबुढा नदी गाउँ पस्दा भारतीय भूमिमा गएर ज्यान जोगाउनुपर्ने अवस्था छ ।”

बेसार खेतीबाटै गाउँलेहरुले आम्दानी गरिरहेको बताउँदै उहाँले कृषकका लागि आउने गरेको अनुदानलगायत अन्य सुविधा गाउँसम्म नपुग्ने गरेको दुःखेसो गर्नुभयो । “गाउँभरि बेसार खेती हुँदा कृषकलाई अनुदान सहयोग भन्ने कुनै निकायबाट भएको छैन”, सुनारले भन्नुभयो, “कृषकका लागि आउने अनुदान पहुँचका भरमा वितरण हुन्छ कि !” बेसार खेतीबाटै वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी गर्न सकिने सुनारको भनाइ छ ।

“पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन”, सुनारले भन्नुभयो, “बेसार खेतीबाट पनि जीवनयापन भएकै छ ।” दुई बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरूपमा बेसार खेती गरेका सुनारले उक्त खेतीका लागि जनशक्ति र सीप आवश्यक नपर्ने बताउनुभयो ।

त्यसैगरी स्थानीय चम्पा सुनारले पाँच वर्षदेखि बेसार खेती गरिरहेको बताउनुभयो । “धान, गहुँ मकै भन्दा त बेसारमा मुनाफा हुँदो रहेछ”, उहाँले भन्नुभयो, “यहाँ ८० प्रतिशत जमिनमा अहिले बेसार खेती हुन्छ ।” उहाँले बेसार करिब सात महिनापछि तयार हुने गरेको बताउनुभयो । “बेसार अन्नबाली नहुने बाँझो जमिनमा पनि उब्जनी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्नबालीमा गरिने मेहनतभन्दा बेसार खेतीमा गरिने मेहनतबाट दोब्बर आम्दानी हुन्छ ।” रासस