हावाहुरीले बालीनाली सखाप, लाखौँको क्षति

हावाहुरीले बालीनाली सखाप, लाखौँको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गएराति चलेको हावाहुरीले खोटाङमा लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । पानीसँगै चलेको हावाहुरीले मकै, फलफूल तथा रुखबिरुवा ढाल्दा लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुगेको हो । बुधबार साँझदेखि रातभर चलेको हावाहुरीले सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा क्षति गरेको जनाइएको छ । पन्ध्र वडा रहेको नगरपालिकाको लेकाली भेगमा पर्ने वडा नं ११ खार्मीमा सबैभन्दा बढी क्षति पुगेको हो ।

खार्मीको लेकाली भेगमा लगाइएको मकै धानचमर निस्कन लागेको अवस्थामा रहेकाले हावाहुरीले ढाल्दा ठूलो क्षति भएको स्थानीयवासी एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा समिति अध्यक्ष हर्कराज राईले बताउनुभयो । “खार्मीको लेखगाउँ, बोहोरीबोट, फूल बिसौँना, रुयल, साब्रु, निगाँले लगायतका ठाउँमा ठूलो क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीका रुपमा रहेको मकै उठाउँदासमेत फल नदिने भएकाले आगामी वर्ष खाद्यान्न अभाव हुने देखिएको छ ।”

छेडागाड नगरपालिका–१३ कार्कीगाउँमा बिहीबार बिहान आएको हावाहुरीबाट मकैबाली क्षति । तस्बिर ः हेमन्त केसी÷रासस

नगरपालिकामा हावाहुरीले पु¥याएको क्षतिको विवरण आउन बाँकी रहेको नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो । “गएराति चलेको हावाहुरीले नगरपालिकाको सबै वडामा क्षति पु¥याएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “क्षतिको विवरण सङ्कलन गर्न वडावडामा प्राविधिक खटाइएको छ ।”

हावाहुरीले जिल्लाको दशवटै स्थानीय तहमा क्षति गरे पनि विवरण आउन बाँकी रहेको कृषि ज्ञानकेन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “हावाहुरीले अन्नबालीसँगै फलफूलसमेत क्षति गरेको जानकारी आएको छ”, उहाँले भन्नुभयो, “हावाहुरीले पु¥याएको क्षतिको विवरण सङ्कलन गरेर कृषकलाई क्षतिपूर्ति दिलाउन प्रदेश तथा सङ्घमा पठाउने योजना बनाएका छौँ ।” हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा रुख ढाल्दा बाटोसमेत अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । हावाहुरीले ढालेको रुख हटाएर अवरुद्ध यातायात पुनःसञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।

हावाहुरीले दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइनको विद्युत् पोल हावाहुरीले विभिन्न ठाउँमा ढाल्दा गएरातिदेखि विद्युत्समेत अवरुद्ध बनेको छ । अवरुद्ध विद्युत् सञ्चालनमा ल्याउन प्राविधिक टोली खटाइएको प्राधिकरणले जनाएको छ । रासस