झापामा जङ्गली हात्तीले उप्रदो मच्चाउँदा एक जनाको मृत्यु

झापामा जङ्गली हात्तीले उप्रदो मच्चाउँदा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जङ्गली हात्तीको आ’क्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो । छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । रेग्मीका श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आउनुभएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको तथा राति नै स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ नै धपाएको कमल–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताउनुभयो । यसअघि समेत त्यस क्षेत्रमा हात्तीले उप्रदो मच्चाउँदै आएको थियो ।