विनाशकारी महाभूकम्प गएको छ वर्षमा ललितपुरमा ४१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न

विनाशकारी महाभूकम्प गएको छ वर्षमा ललितपुरमा ४१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विसं २०७२ को विनाशकारी महाभूकम्प गएको छ वर्ष लागिसक्दा ललितपुर जिल्लाभर मात्र ४१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । जग्गा विवाद, एउटै परिवारमा धेरै लाभग्राही रहनु र कति व्यक्तिको नाममा जग्गासमेत नहुँदा निजी आवास पुनःनिर्माणमा ढिलाइ भएको हो ।

सरकारले दिएको रु तीन लाख अनुदानमा कति लाभग्राहीसँग घर बनाउन आवश्यक अन्य रकम अभाव, शहरी क्षेत्रका घर भूकम्पले भत्काउँदा यसलाई पन्छाउनदेखि नयाँ निर्माण गर्नसम्म विभिन्न बाधा र अडचन परेर ललितपुरमा हालसम्म मात्र कूल ४१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) आयोजना प्रमुख शिवराम गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस जिल्लाभर हालसम्म सम्झौता सम्पन्न भएका कूल लाभग्राही सङ्ख्या ८९ प्रतिशत रहेका छन् । ललितपुरको ११ प्रतिशत घरपरिवार भने विभिन्न समस्याका कारण हालसम्म लाभग्राही पहिचानमा समेत नपरेका गेलालले जानकारी गराउनुभयो ।

ललितपुरमा पहिचान भएका कूल लाभग्राही सङ्ख्या २८ हजार ८२४, सम्झौता सम्पन्न भएका २५ हजार ५३२, पहिलो किस्ता लिने २५ हजार ४७७, दोस्रो किस्ता लिने १३ हजार ४५५ र तेस्रो किस्ता लिने लाभग्राही ११ हजार ४९७ रहेका एकाइ आयोजना अनुगमन तथा मूल्याङ्कन विज्ञ यमनाथ गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “कूल सम्झौता सम्पन्न भएका लाभग्राहीमा अझै ४८ प्रतिशत घरपरिवारले निजी आवास बनाउन बाँकी नै रहेको छ । यहाँभित्र निजी आवास प्रवलीकरण गर्न पहिचान भएका लाभग्राही सङ्ख्या एक हजार ६३२ छ । यसमा सम्झौता सम्पन्न भएका एक हजार ६७ र पहिलो किस्ता लिने सङ्ख्या यति पूरै नै रहेका छन् ।”

निजी आवास प्रबलीकरण गर्न प्राविधिक जनशक्ति कमी भएर तथा यसतर्फको अनुदानमा लाभग्राही सन्तुष्ट नभएर ललितपुरमा हालसम्म कसैले पनि प्रवलीकरणका लागि दोस्रो किस्ता नलिएको गिरीले जानकारी गराउनुभयो । “यहाँ रहेका छ पालिकाबाट हालसम्म ६५ दशमलव तीन प्रतिशत घरपरिवारले मात्र निजी आवास प्रबलीकरणका लागि पहिलो किस्ता बराबरको रकम लिएका छन्”, उहाँले थप्नुभयो ।

ललितपुरको तीन गाउँपालिकाका मानिसले निजी आवास पुनःनिर्माण गर्न महानगरपालिका र नगरपालिकाका घरपरिवारभन्दा बढी नै सङ्ख्यामा पहिलो किस्ता बराबरको रकम लिइसकेका छन् । महाँकालबाट ९७, कोञ्ज्योसोमबाट ९४, वाग्मती गाउँपालिकाबाट ९३ प्रतिशतका साथै महानगरपालिकाबाट ८६, महालक्ष्मीबाट पनि ८६ र गोदावरी नगरपालिकाबाट ८५ प्रतिशत जनताले पहिलो किस्ता बराबरको रकम निजी आवास पुनःनिर्माणका लागि लिइसकेको बताइएको छ ।

सात गुम्बा मर्मत सम्पन्न

ललितपुरका सात गुम्बा मर्मत सम्पन्न भएको छ । विसं २०७२ मा भूकम्प गएको पाँच बितिसक्दा यहाँ बल्ल मात्र यति सङ्ख्याका गुम्बा मर्मत सम्पन्न भएको सम्बन्धित निकायले जनाएको छ ।

ललितपुरमा विसं २०७२ को भूकम्पले कूल १६ गुम्बामा क्षति पु¥याएको थियो । यसमा आठ गुम्बा पूर्णरूपमा नयाँ बनाउनुपर्ने छ भने अर्काे थप आठ गुम्बा मर्मतसम्भार गर्नुपर्ने खालको रहेको एकाइ आयोजना प्रमुख गेलालले बताउनुभयो । “पूर्णरूपमा नयाँ बनाउनुपर्ने गुम्बाको काम यस आर्थिक वर्षको शुरुआतबाट केही अघि बढ्ने भएको छ भने केवल मर्मतसम्भार गर्नुपर्ने आठ गुम्बामा सातको काम सम्पन्न भइसक्यो”, उहाँले थप्नुभयो, “एउटा गुम्बा मर्मतसम्भार गर्ने जिम्मा लिएको ठेकेदारले सम्झौता गरी सम्पर्कमा नआएकाले अझै बनाउन बाँकी रहेको छ ।”

ललितपुरमा मर्मत सम्पन्न भइसकेका सात गुम्बामा वाग्मती गाउँपालिका–४ प्युटारको यसी छ्योइदेन र अर्काे यसी छ्योखोर्लिङ गुम्बा, महाँकाल गाउँपालिका–मानिखेलको शिखन गुम्बा, ललितपुर महानगरपालिका–२१ खोकनाको महायान बौद्धधर्म समाज गुम्बा, दोस्रो पुल्चोकको अक्षश्वर महाविहार तथा तेस्रो धापाखेलको बृद्ध विहार र महालक्ष्मी नगरपालिकाको सुर्वण क्षत्रपुर विहार रहेका आयोजना इञ्जीनियर ममता ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिका–१३ कुसुन्तीको सम्पूर्ण तमु समाज गुम्बा भने सम्झौताअनुसार अझै मर्मतसम्भार हुनसकेको छैन ।” नेपाल सरकारको आर्थिक लगानीमा सात गुम्बा मर्मतसम्भार पूर्ण भएका ढुङ्गानाले जानकारी गराउनुभयो । रासस