बुबाको मृत्युपछि आमाले पनि छोडेर हिडे, बिचारा तीन नाबालकको विचल्ली

बुबाको मृत्युपछि आमाले पनि छोडेर हिडे, बिचारा तीन नाबालकको विचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–विमलबहादुर विष्ट

लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ ।

पचपन्न वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मुत्यु भएको थियो । बुवाको मृत्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन हुनुभएको थियो । बुवा खातीको मृत्यु भएसँगै घरमा रेखदेख तथा हेरचाह गर्ने कुनै पनि अभिभावक नभएका कारण उहाँका तीन छोरा नौ वर्षीय लक्ष्मण खाती, दुई वर्षीय कृष्ण खाती र चार वर्षीय गणेश खातीको विचल्ली भएको छ ।

अभिभावकविहीन बालकलाई सहयोग गरिदिन स्थानीयवासीले सबैमा आग्रह गरेका छन् । आमाबुवाविहीन भएका ती बालकलाई हिजो आज घरमा खाना दिनेसमेत मान्छे नभएका कारण निकै समस्या उत्पन्न भएको छ । वर्षातको झरीमा खरले छाएको चुहिने सानो झुपडी घरमा खानेकुरो नहुँदा उनीहरु कयौँ दिन भोकै बस्न बा’ध्य भएका छन् । सहाराविहीन बनेका ती बालकलाई अहिलेसम्म कसैले पनि सहयोग तथा स्याहार नगरेका कारण झनै समस्या हुँदै आएको सायल गाउँपालिका–६ का स्थानीयवासी रमेशबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीन जना साना बालक एक्लै घरमा बस्छन्, उनीहरुलाई खानेकुरो दिने मान्छे पनि छैनन, कस्तो बिजोक भएको छ ।” घरमा रहेको अन्नपात पकाएर खान सक्ने अवस्था नभएका कारण पनि उनीहरुलाई समस्या हुन थालेको थापाले जानकारी दिनुभयो । लामो समयसम्म बिरामी रहेका बुवाको करिब १५ महिना पहिले मृत्यु भएसँगै आमाले पनि एकाएक बालबच्चा र घर छोडेर सम्पर्क विहीन भएपछि ती बालकको बिचल्ली भएको सायल गाउँपालिकाका अर्का स्थानीयवासी तथा नेकपाका युवा नेता तेज डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बुवा बिरामी थिए बिते, आमाले अकस्मात बालबच्चा छोडेर बेपत्ता भएपछि बाललकको संरक्षण र रेखदेख गर्ने मान्छे नहुँदा समस्या उत्पन्न भएको हो, उनीहरुको समस्या समाधानका लागि सबैले सहयोग गर्न जरुरी छ ।”

दीर्घरोगका रुपमा रहेको दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै वडाका नागरिकको सहयोगमा उनीहरुका लागि केही खाद्यान्न र लुगा कपडा दिए पनि घरमा पकाएर दिने मान्छे नभएका कारण ती बालकलाई समस्या भएको सायल गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाका नागरिकको सहयोगमा हामीले केही खाद्यान्न र लुगा कपडा दिएका थियौँ तर अभिभावक नै सम्पर्कविहीन भएपछि बालकको विचल्ली भयो ।”
श्रीमान्को मृत्यु भएको केही महिनामा नै छिमेकी मुलुक भारतको उडिसा शहरमा माइती भएकी आमा गोमा खाती नाबालक छोराहरु छोडेर उतै सम्पर्कविहीन भएको स्थानीयवासी बताउँछन् । आमा बुवाविहीन भएका नौ वर्षका लक्ष्मण खातीले आफ्ना दुई भाइलाई रेखदेखको गरिरहेका छन् ।

घरमा खाना पकाएर दिने अभिभावकसमेत नहुँदा बालबालिकालाई दैनिक छाक टार्नसमेत समस्या हुने गरेको छ । आफ्नो साथै भाइहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई निकै हम्मे हम्मे परेको छ । गाउँमा नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने तथा डराउने अवस्थाका लक्ष्मण खातीले छिमेकीसँगै मागेर भए पनि छाक टार्नु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा मागेर खादै छौँ, सधँै कति माग्नु काम गर्न सक्ने उमेर र अवस्था छैन, के गरेर जिन्दगी काटौँ, सारै दुःख भयो ।”

अभिभावकविहीन भएका ती बालकहरुको उचित लालनपालनका लागि गाउँपालिकाबाट आवश्यक पहल गरिने सायल गाउँपालिकाका उपाध्यक्ष विष्नादेवी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावक नहुँदा बालकहरु समस्यामा परेको जानकारी पाएका छौँ, उनीहरुको पढाइदेखि अन्य लालनपालनका लागि गाउँपालिकाबाट आवश्यक पहल गर्ने छौँ ।” रासस