हिजोआज पानी छैन तामाको गाग्रीमा

हिजोआज पानी छैन तामाको गाग्रीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २९ साउन (रासस) ः पोखरा–६ लेकसाइड गौरीघाटकी ५६ वर्षीय जमुना भुजेललाई घर अगाडिको सार्वजनिक धारामा प्लाष्टिकका बोत्तल र जार लिएर पानी भर्न आउने सर्वसाधरणको घुइँचो देख्दा आफ्ना पालाको तामाको गाग्रीको झझल्को आउँछ । अचेल कता गए होलान् तामाका गाग्री ? उहाँको रन्को छ । आफ्ना पालामा मेवाखोला र तालबाट डोकोमा बोकेर तामा, पित्तलको गाग्री र माटोको घैँटोमा पानी ल्याएको क्षणको स्मरण गर्नुहुन्छ भुजेल । तीनै भाँडाका पानी घटघट पिएर मेलापात गरेका दिनहरु सम्झँदै भुजेल भन्नुहुन्छ “समय निकै बदलियो, हिजो आज त तामा र पित्तलका गाग्रीहरु सोकेसमा सजिन मात्र थाले, धारा पँधेरामा कोक फ्यान्टाका बोत्तल र प्लाष्टिकका जारमात्रै देखिन्छन् ।”

उहाँले पछिल्लो पुस्ताले तामाको गाग्रीको महत्व नबुझ्दा र व्यस्त जीवनशैलीले सहज उपायको खोजी गर्दै गर्दा तामाको भाँडाको पानी खाने चलन नै लोप हुँदै गएको बताउनुहुन्छ । धार्मिक हिसाबले पनि तामाका भाँडाकुडाँको महत्व रहेको अनुभव सुनाउँदै उहाँले आज पनि तामाको गाग्रीमा पानी ल्याएर पूजाआजामा जल चढाउने र आफूले पनि पिउने गरेको बताउनुभयो ।

लेकसाइडकै होटल ड्याण्डील्याण्डका सञ्चालक ५४ वर्षीय सारा बोगटी पनि आफ्नो समयका क्षण सम्झँदै भन्नुहुन्छ, “विवाह भएर आउँदा डोकोमा तामाको गाग्री राखेर फेवातालको पानी बोकेर खुब ल्याइयो, छेउछाउका पात पतिङ्गर पन्छाएर अञ्जुलीले तालको पानी पनि पिइयो, अहिले तालको पानी प्रदूषण भएको छ, अनि तामाका भाँडाहरु पनि हराउन थाले, प्लाष्टिकका जारको पानी खान थालियो ।”

उहाँले २०४० सालसम्म फेवातालको पानी तामाको गाग्रीमा ल्याएर खाएको स्मरण गर्नुभयो । “त्यतिबेला तालको पानी पिउन सकिने गरी सफा थियो, तामाको गाग्रीको पानी छानिएजस्तै (फिल्टर गरे जस्तै) हुन्छ भनेर सिधै पिउने गरिन्थ्यो, अहिले त भएका गाग्रीहरु पनि कोठाकोठामा थन्किन थाले, जारको पानीले तामाको गाग्री नै विस्थापित गरिदियो ।”

पोखरा–१७ विरौटाकी ४५ वर्षीय सरस्वती अधिकारीले २५ वर्षअघि विवाहमा दाइजोमा पाएका गाग्री अहिले थन्काएर राखेको र जारको पानी प्रयोग गर्ने गरेको बताउनुभयो । किराना व्यवसायी अधिकारीले भन्नुभयो, “विवाह गरेर आउँदाका केही वर्ष तामाको भाँडा टलक्क पारेर मुलको पानी भरेर ल्याइन्थ्यो, घरघरमा धारा हुँदैनथे, अहिले भने घरघरमा धारा छ तर पानी सफा आउँदैन अनि जार र मिनरलको पानी खानुपर्ने हुनथाल्यो ।” उहाँले तामाको गाग्रीको पानी स्वच्छ हुन्छ भन्ने ज्ञान भए पनि पसलमा जारकै पानी बेच्ने र सहज उपलब्धताका कारणले प्रयोग गर्ने गरेको बताउनुभयो ।

पोखरा– ६ बैदामकी ८१ वर्षीय लक्ष्मी भट्टराईले भने आज पनि तामाकै गाग्रीको पानी खाएर प्यास मेटाउने गरेको अनुभव सुनाउनुहुन्छ । “मलाई त प्लाष्टिकका भाँडाको पानीले प्यास मेटिँदैन, कस्तो कस्तो लाग्छ । त्यसैले बुहारीले तामाको भाँडामै पिउने पानी राख्ने गर्छिन् र त्यही पानी पिउँछु”, तामाको गाग्री र तामाकै अम्खोराको प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

सासूआमाले तामाको भाँडाको पानी खान खोज्ने भएकाले अझै पनि तामाका गाग्री नै प्रयोग गर्दै आएको बुहारी हीरा भट्टराईले बताउनुभयो । “आमाले तामाको भाँडाको पानी खाए राम्रो हुन्छ भन्नुहुन्छ, यसका धेरै गुण पनि छन् त्यसैले हाम्रो परिवारमा जारको पानी निकै कम प्रयोग हुन्छ हामी सधैँ तामाको गाग्रीको प्रयोग गर्छौं ।” उहाँले पानीलाई युरोगार्ड (आरा) को प्रयोगबाट पिउनका लागि तयार बनाए तामाको साना हत्तरमा राख्ने र त्यही पानी प्रयोग गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका प्राज्ञ सभा सभापति एवं ब्राम्हण समाजका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले आयुर्वेदका अनुसार ताम्रजलले वात, कफ र पित्त प्रकृतिलाई सन्तुलित पार्ने क्षमता हुने बताउनुहुन्छ । “बाल्यकालमा कफ, जवानीमा पित्त र वृद्ध हुँदा वात हुने गर्छ यसलाई ताम्रजलले सन्तुलनमा ल्याउँछ ।” उहाँले तामाको भाँडाको पानी सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न र पानीजन्य रोग पखाला, कमलपित्त जस्ता रोगका लागि पनि उपयोगी हुने बताउनुभयो । उहाँका अनुसार तामाको भाँडाको पानी पिउँदा स्वादिष्ट हुनुका साथै यसमा राखेको पानीले सकारात्मक गुण प्रदान गर्छ । तामामा मष्तिष्कलाई क्रियाशील गर्ने र छाला स्वस्थ र सुन्दर बनाउन नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत पुरयाउने उहाँको भनाइ छ ।

त्यसैगरी धार्मिक मान्यताअनुसार तामाको भाँडामा दैवीशक्तिको बास हुने विश्वासले पूजाआजा गर्ने चलनसमेत रही आएको छ । हिन्दू धर्म संस्कारअनुसार विवाहमा कन्यालाई लक्ष्मीका रुपमा र वरलाई विष्णुको रुपमा परिकल्पना गरिने र कन्यादान गर्ने बेला तामाको ताउलोमा गोडा धुने चलन रहेको र यसबाहेक अन्य धार्मिक कार्यमा तामाको भाँडालाई ढोग्ने र पुज्ने चलन रहेको अधिकारीले बताउनुभयो ।

संस्कृतिकर्मी तुलसी प्रभासले समाज दिनदिनै आधुनिकताका नाममा अग्रसर हुँदा हिन्दू धर्म संस्कार संस्कृतिसँग जोडिएका सकारात्मक र उपयोगी पक्ष विस्तारै विस्थापित हुँदै गएको धारणा राख्नुहुन्छ, “हाम्रा वैदिक शास्त्रहरुमा यस्ता धेरै उपयोगी गुणहरु छन् तर नयाँपुस्ताले अन्धविश्वास र रुढीबादी भन्दै गलत व्याख्या गरेर संस्कृतिको क्षय गरेका छन् ।” उहाँले तामाको भाँडाको पानीको उपयोगिताबारे आयुर्वेद शास्त्र र विज्ञानमा पनि व्याख्या गरेकाले यसको महत्वलाई उजागार गर्नुपर्ने बताउनुहुन्छ । “हाम्रा अग्रज पुर्खाहरुले अनुशरण गरेका धेरै कुराहरु वैज्ञानिकरुपमै प्रमाणित भएका छन्, अब हाम्रो संस्कार संस्कृति र परम्परालाई विज्ञानसँग जोडेर विश्लेषण एवं पुनव्र्याख्या गर्न जरुरी छ ।”

उहाँले विज्ञानले पनि प्लाष्टिकको भाँडोमा लामो समय रहेको कुनै पनि खानेकुरा स्वास्थ्यको हितमा नहुने बताएको उल्लेख गर्नुभयो, “हाम्रा पुर्खाहरुले प्रयोग गर्ने तामाको भाँडाको ताम्रजल अनि माटोको भाँडाको पानी स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी छन् ।”

पोखरा न्यूरोडमा १० वर्षदेखि गौतम किचन कर्नर सञ्चालन गर्दै आउनुभएका व्यवसायी टेकराज गौतमले अहिले तामाको गाग्री ताउलोको व्यापार स्वात्तै घटेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दश वर्षअघिसम्म तामाको गाग्री ताउलोको व्यापार राम्रो थियो तर अहिले छैन, हिन्दु धर्म संस्कारअनुसार विवाह गर्दा एकजोड गाग्री ताउलो लाने ग्राहक आउँछन्, नत्र व्यापार छैन ।” उहाँले कहिलेकाहीँ घर सजाउन र प्रवेशद्वारामा तामाको गाग्रीमा पानी भरेर राख्दा शुभ हुने धार्मिक मान्यताले केही ग्राहकले खोज्ने गरेको बताउनुभयो ।

पोखरा नदीपुरमा २५ वर्षदेखि पुख्यौली पेशाका रुपमा भाँडावर्तन बनाउने पेशा अँगाल्दै आउनुभएका आइतबहादुर विश्वकर्मा पहिले जस्तो तामाका गाग्री ताउलोको माग अहिले आउन छोडेको बताउनुहुन्छ । “पहिला पहिला भाँडा पसलको ‘अर्डर’ अनुसारको भाँडा वर्तन बनाइन्थ्यो, विवाहका मौसममा गाग्री ताउलो, खरदुनो, रोचाको माग निकै हुन्थ्यो, बनाउन भ्याइनभ्याइ हुन्थ्यो तर अहिले कहिलेकाहीँ मात्रै अर्डर आउँछ ।”

उहाँले पहिला तामाका गाग्री र ताउलो दाइजो दिने चलन निकै भएको र विवाहमा कसले कति वटा गाग्री ताउला ल्याए भन्ने कुराले घरको कुल, प्रतिष्ठालाई दाँज्ने गरेको अनुभव सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले सानासाना तामाका हत्तर सजावटका लागि मात्र ग्राहक तथा पसलेबाट माग आउँछ पहिले जस्तो धेरै बनाउन त पर्दैपर्दैन ।” रासस