गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् । सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जनाको कोरोनाका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सक्रिय कोरोनाको प्रतिशत नौ दशमलव ३३ रहेको छ भने मृत्यु हुने प्रतिशत शून्य दशमलव ३० छ । म्याग्दीमा ४८ सङ्क्रमित रहेकामा सबै जना निको भएपछि घर फर्केका छन् । म्याग्दीमा सक्रिय बिरामी छैनन् । कास्कीमा १९५ सङ्क्रमित भएकामा १४५ जना उपचारपछि निको भएर घर फर्केका छन् भने सक्रिय केस ४९ जना छन् । कास्कीमा एक जनाको मृत्यु भएको छ ।
पर्वतमा १०४ सङ्क्रमित भएकामा ९८ जना निको भए भने छ जनाको उपचार भइरहेको छ । यसैगरी बाग्लुङमा २६३ सङ्क्रमितमा २४४ निको भए भने १८ जनाको उपचार जारी रहँदा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जामा २९८ मध्येमा २५६ उपचारपछि घर फर्केका छन् । जिल्लामा ४० जनाको उपचार भइरहँदा दुई जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा ३३३ मा ३२६ निको भएका छन् भने सात जनाको उपचार भइरहेको तथा तनहुँमा २१० सङ्क्रमित हुँदा १८० निको भए भने ३० जनाको उपचार भइरहेको छ ।
गोरखामा ११६ जना सङ्क्रमित रहेकामा ११२ जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको उपचार जारी रहँदा एक जनाको कोरोनाका कारणबाट मृत्यु भएको छ । लमजुङमा ११३ मा १०९ निको भएका छन् भने चार जनाको उपचार जारी छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने एक÷एकजना सङ्क्रमित भएका दुवै जना उपचारपछि निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा गरी एक हजार ११२ जना क्वारेन्टिनमा रहेका छन् ।
१८ जना सङ्क्रमित थपिए
गण्डकी प्रदेशमा आज १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार कास्कीमा ११ तथा तनहुँ र बाग्लुङमा दुई÷दुई तथा गोरखा, नवलपरासी र बाग्लुङमा एक÷एकजना छन् । कास्कीमा सङ्क्रमण पुष्टि भएका सबै जना पोखरा महानगरपालिका भित्रका हुन् ।
सङ्क्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । यससँगै प्रदेशमा सङ्क्रमित एक हजार ७०० पुगेका छन् । प्रदेशमा हालसम्म ३२ हजार ९९६ जनको पिसिआर विधिबाट नमूना जाँच गरिएकामा ३१ हजार २९६ जनामा कोरोना देखिएको छ्रैन । रासस
प्रतिक्रिया