युनियनका १० जिल्ला अध्यक्षद्वारा नौ सूत्रीय माग प्रस्तुत

युनियनका १० जिल्ला अध्यक्षद्वारा नौ सूत्रीय माग प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३२ साउन । नेपाल प्रेस युनियन प्रदेश नं १ का जिल्ला समितिहरुले कोेभिड–१९ को महामारीका बेला पत्रकार र सञ्चार संस्थाभित्रका समस्या समाधानका लागि सरकार तथा सरोकारवालासँग शनिबार नौ सूत्रीय माग अघि सारेका छन् ।

प्रदेशका १० जिल्लाका अध्यक्षको सहभागितामा शनिबार भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा सञ्चारसम्बद्ध व्यावसायिक सङ्घ सङ्गठनप्रति ती माग प्रस्तुत गरिएको हो । जोखिम क्षेत्रमा रहेका पत्रकारको कोभिड–१९ परीक्षणदर बढाउन, सङ्क्रमणमा परेका पत्रकारको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा सङ्क्रमण पुष्टि हुनासाथ आइसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न युनियनले माग गरेको छ ।

दश जिल्लाका युनियनका अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा कोभिड–१९ का कारण आर्थिक सङ्कटमा परेका पत्रकारलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामूलक बनाउन, सरकारद्वारा सञ्चारकर्मी र सञ्चारगृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न माग गरिएको छ ।

यसैगरी अन्य महामारीका कारण बन्द भएका र सञ्चालनमै समस्या भइरहेका अनलाइन, रेडियो र टिभीजस्ता सञ्चारगृहका निम्ति सरकारले ‘सफ्ट बैंक लोन’ तथा अन्य कल्यणकारी योजनाको व्यवस्थापन गर्न तथा साना लगानीका मिडियालाई प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितिमा अङ्क नपुगे पनि स्वतः नवीकरण हुने व्यवस्था गर्न माग गरिएको छ ।

विज्ञप्तिमा महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायका विषयमा नेपाल पत्रकार महासङ्घद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न, धेरै पत्रकारको गुमेको रोजगार पुनःस्थापित गर्न नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारलाई दबाब दिएर रोजगार बैंकको प्रबन्ध गर्न आवश्यक पहल गर्न भनिएको छ ।

यसैगरी २०७७ साल अवधिको महासङ्घको सदस्यतामा नवीकरणमा लाग्ने सम्पूर्ण शुल्क छुट गराउन, महासङ्घले आफ्ना सदस्यका लागि कोरोना बीमाको प्रबन्ध गर्न र कार्यरत पत्रकारलाई राष्ट्रिय मिडियाले लामो समयदेखि पारिश्रमिक नदिएकाले तत्काल पारिश्रमिक उपलब्ध गराउन महासङ्घ अनि युनियन केन्द्रीय समितिसँग पहल गर्न माग गरिएको छ ।

युनियनले प्रदेश तथा जिल्लामा भएका समस्याबारे जिल्लास्तरबाटै समाधान गर्न दबाब दिन पनि आग्रह गरको छ । सङ्क्रमण पुष्टि भएका पत्रकारको स्वास्थ्यलाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाँप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरिएको छ ।

छलफलमा युनियनका पूर्वाञ्चल संयोजक लीलाबल्लव घिमिरे, सुनसरी सभापति पवन अधिकारी, मोरङ सभापति कुमार लुइँटेल, पाँचथर सभापति भीम बाँस्कोटा, इलाम सभापति विप्लव भट्टराई, खोटाङ सभापति उत्तम चम्लागाईँ, उदपयुर सभापति पर्शुराम थापा, ताप्लेजुङ सभापति सन्तोष पुर्कुटी, तेह्रथुम सभापति टीआर लिम्बू, धनकुटा सभापति हीमा चेम्जोङ र झापा सभापति इन्दु पूर्वेली सहभागी हुनुहुन्थ्यो ।

प्रदेश नं १ मा ८६ सङ्क्रमित थप

विराटनगर महानगरपालिमा ४० सहित प्रदेश नं १ मा शनिबार ८६ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेशमा शनिबार एक हजार ९४८ जनाको पिसीआर परीक्षण गरिएकामध्ये ३२ महिलासहित ८६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समिति संयोजक डा सरोज विशालले बताउनुभयो ।

मोरङका ६४, सुनसरीका १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरका एक/एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १९ महिलासहित ४०, रङ्गेलीका तीन महिलासहित नौ, धनपालथानका पाँच महिला, जहदाका एक महिलासहित तीन, सुन्दरहरैचाका दुई पुरुष, बूढीगङ्गाका एक महिलासहित दुई, ग्रामथान, सुनवर्षीमा एक/एक र कानेपोखरीका एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको धरानमा दुई महिलासहित ११, रामधुनीका पाँच, बर्जुका तीन, तेह्रथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगाका एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ९०७ पुगेको छ । यस्तै प्रदेशमा शनिबारसम्म ६४ हजार ५९९ जनाको पिसीआर परीक्षण भएको छ ।