यसपाली घन्किएनन् तीजका भाका

यसपाली घन्किएनन् तीजका भाका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ५ भदौ  । गत वर्षको तीजमा तनहुँ जिल्लाका विभिन्न ठाउँमा विविध कार्यक्रम भएका थिए । विभिन्न राजनीतिक दलका भातृ सङ्गठन, आमा समूह लगायतको आयोजनामा तीज गीत प्रतियोगिता आयोजना हुन्थे । महिलाहरु रातो सारी लगाउँदै कार्यक्रममा सहभागी हुन्थे, नाच्थे अनि गाउँथे ।

तर यो वर्षको तीजमा महिलाहरुले सामूहिक रुपमा भेला भएर कार्यक्रम गर्न पाएनन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले घरमै परिवारका सदस्यबीच सुरक्षित रुपमा तीज मनाउन आग्रह गरेको छ ।

नेपाली काङ्ग्रेसकी नेतृ एवं गण्डकी प्रदेश सभाका सदस्य सरिता गुरुङले सामाजिक सञ्जालमा गत वर्षका तीज कार्यक्रमका तस्वीर पोष्ट गर्दै शुभकामना दिनुभयो । गुरुङले कोरोनाका कारण यस वर्षको तीज खल्लो भएको बताउनुभयो । “कोरोनाको जोखिम दिनदिनै बढ्दै छ, जिल्लाका अधिकांश स्थानमा निषेधाज्ञा लागू गरिएको छ, यो वर्षको तीज यस्तै भयो, घरमै बसेर सुरक्षित रुपमा तीज मनाउन आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।

“विगतका वर्षहरुमा धेरै ठाउँमा प्रमुख अतिथि भएर तीज मनाउन गइन्थ्यो, अहिले पहिलो पटक तीजमा घर बस्दा नयाँ अनुभूति भएको छ,” प्रदेश सभा सदस्य गुरुङले भन्नुभयो, “कोरोनाको जोखिम कायम रहेकाले बाहिर हिँड्न भएन, सामाजिक सञ्जालमार्फत् नै दिदीबहिनीलाई शुभकामना दिएको छु ।”

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्ती अघिल्ला वर्षहरुमा विभिन्न कार्यक्रममा पुग्ने गर्नुभएकामा यो पटक घरमै बसेर तीज मनाउँदै हुनुहुन्छ । कोरोना कहरका कारण पहिलो पटक तीज मनाउन नपाएको घर्तीले बताउनुभयो । “विगतका वर्षहरुमा विभिन्न सङ्घसङ्गठनले आयोजना गरेको तीज कार्यक्रममा सहभागी हुन्थे, यो पटक अवस्था त्यस्तो रहेन”, उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको तीज घरमै बसेर मनाउन आग्रह गरेको थियो । कोरोना जोखिम कायम रहेकाले जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका वडा नं २ देखि ९, देवघाट गाउँपालिका वडा नं ५ मा निषेधाज्ञा जारी गरेको छ भने बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिकाले पालिकास्तरमा लकडाउन घोषणा गरेको छ ।