कान्तिपुर दैनिकका पत्रकार स्व. बानियाँको परिवारलाई रु चार लाख सहयोग

कान्तिपुर दैनिकका पत्रकार स्व. बानियाँको परिवारलाई रु चार लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ७ भदौ । तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार स्व. बलराम बानियाँको परिवारलाई अमेरिकाबाट प्राप्त रु चार लाख ३१ हजार ९५१ सहयोग हस्तान्तरण गरिएको छ । बानियाँको १३ औं दिनको पुण्यतिथिको अवसरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

नेपाल–अमेरिका पत्रकार सङ्घले पठाएको उक्त रकम आज नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले स्व. बानियाँका छोरी सुष्मिता बानियाँलाई हस्तान्तरण गर्नुभयो । स्व. बानियाँका एक छोरा र एक छोरीको शिक्षादीक्षाका लागि पत्रकार महासङ्घको पहलमा उक्त रकम अमेरिकाका पत्रकारले पठाएको आचार्यले बताउनुभयो । पत्रकार महासङ्घका अध्यक्ष आचार्यले बालबालिकाको शिक्षादीक्षाका लागि नेपाल पत्रकार महासङ्घले पनि पहल गर्ने सो अवसरमा प्रतिबद्धता जनाउनुभयो ।

१३ औं दिनको पुण्यतिथिमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, काउन्सिलका सदस्य खिलाबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश कमिटीका अध्यक्ष त्रिभुवन श्रेष्ठ, प्रदेश सदस्य गोरा मियाँ, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको थियो ।

गत साउन २६ गतेदेखि बेपत्ता हुनुभएका पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा २८ गते भेटिएको थियो ।