प्राकृतिक विपत्तीबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत वितरण

प्राकृतिक विपत्तीबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ९ भदौ । डिलाशैनी गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । परिवारका सदस्य गुमाएका डिलाशैनी–४ बलालीका ऐते बोहरालाई राहत तथा क्षतिपूर्ति दिइएको हो । गत साउन २२ गते राति सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा ऐतेकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको ज्यान गएको थियो । यस्तै घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले रु चार लाख राहत दिएको हो । विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । पीडित परिवारको खातामा एकमुष्ठ रु चार लाख जम्मा गरिदिएको हो ।

उहाँले भन्नुुभयो, “परिवारका एक सदस्यको मृत्यु भएमा रु दुई लाख र सोही परिवारका अर्का सदस्यको मृत्यु भएमा थप रु एक लाख दिने व्यवस्था छ । सोहीअनुसार दुई मृतकको गरेर रु तीन लाख र घर पूर्णरूपमा क्षति भएकाले थप रु एक लाख गरी चार लाख बैंकमार्फत दिएका हौँ ।”

यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोले गरेको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ । अन्य स्थानीय तहमा मानवीय क्षति नभएकाले स्थानीय विपद् व्यवस्थापन समितिले नै क्षतिपूर्ति तथा राहत दिने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । कुन क्षेत्रमा के कति क्षति पुर्याएको छ भन्नेबारे सम्बन्धित स्थानीय तहमा रहेका विषयगत शाखाहरुले हेर्ने र त्यसपश्चात् राहत तथा क्षतिपूर्ति दिइने बताइएको छ ।

यसैबीच बैतडीको सुर्नया गाउँपालिका–५ का पहिरोपीडित चार परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित वीरबहादुर मडै, दिनेश मडै, रामबहादुर मडै र धर्म मडैको परिवारलाई राहत सामग्री वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताउनुभयो ।

सोमबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको सहयोगमा प्राप्त राहत सामग्री वितरण गरिएको हो । राहत सामग्रीमा कपडा, भाँडाकुँडा, त्रिपाल, खाद्यान्नलगायत सामग्री छन् । यसका साथै उपाध्यक्ष विष्टले आफ्नातर्फबाट राहतस्वरुप पीठो वितरण गर्नुभएको थियो ।

पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गर्ने सम्बन्धमा भने आगामी कार्यपालिकाको बैठकमा छलफल हुने उपाध्यक्ष विष्टले बताउनुभयो । गत हप्ता अविरल वर्षासँगै पहिरो खस्दा सुर्नया–५ का ४ परिवार विस्थापित भएका थिए ।