आन्तरिक पर्यटकको रोजाइ बन्दै सहस्रधारा झरना


कोरोनाका कारण अधिकांश मानिस बेरोजगारी तथा फुर्सदिला भएका छन् । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि मानिसहरु एकान्त, खोलानाला र प्राकृतिक सौन्दर्यमा रमाउन थालेका छन् । एकान्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण गलकोट नगरपालिका–३ हटियाको सहस्रधारा झरनाले आन्तरिक पर्यटकलाई आकर्षण गर्न थालेको छ ।

तीन वर्ष अघिदेखि मात्रै प्रवद्र्धन गर्न थालिएको उक्त झरना कोरोना छल्ने निहुँ बन्दै आएको छ । कोरोनाका कारण शहरमा लकडाउन र निषेधाज्ञा भएपछि हटियाको सहस्रधारा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । अहिले सहस्रधारामा दैनिक १०० देखि २०० आन्तरिक पर्यटक रमाउन पुग्ने गरेका छन् । कोरोनाले आक्रान्त पारेको मान्छेलाई झरनाको कलकल बग्ने पानीले मनै लोभ्याउन थालेपछि आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ ।

बागलुङ बजारमा व्यवसाय गर्दै आएका कृष्ण लामिछाने लामो समयको बन्दाबन्दी र पुनः निषेधाज्ञाका कारण घुम्नका लागि एकान्त स्थान खोज्दै सहस्रधारा झरनामा आएको बताउनुभयो । “शहरमा भीडभाड बढी हुन्छ तर अहिले व्यापार व्यवसाय ठप्प छ”, लामिछानेले भन्नुभयो, “कोरोना छल्न गाउँमा बस्दा कहिले एकान्तमा रहेका पर्यटकीय स्थलमा पुगेर आनन्द लिने गरेको छु ।”

कोरोनाका कारण गलकोट नगरपालिकाले झरना अवलोकनका लागि कुनै रोकावट र फुकुवा नगरे पनि आन्तरिक पर्यटकहरु स्वतःस्फूर्त रूपमा झरना अवलोकनका लागि पुग्ने गरेको नगरपालिकाले जनाएको छ । पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । कोरोनाका कारण फुर्सदिला विद्यार्थी तथा व्यवसायीले अहिले दिनभर झरनामै रमाउने, तस्बिर खिच्ने तथा टिकटक बनाउने गरेका छन् ।

नगरपालिकाको केन्द्र हटियादेखि तीन किलोमिटरको दूरीमा पदमार्ग र सडक मार्गमार्फत पुग्न सकिने अनकन्टार जङ्गलको बीचमा रहेको झरनाले पर्यटकको मनै लोभ्याउन थालेपछि पूर्वाधारलाई समेत जोड दिइएको छ । उक्त झरनामा साहसिक खेलका रूपमा रहेको क्यानोनिङ (छाँगा आरोहण)लाई व्यावसायिक बनाएर बाह्य पर्यटकलाई समेत भित्र्याउन थालिएको गलकोट–३ हटियाका वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । हालसम्म झरनाको पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारको रु ११ लाख र गलकोट नगरपालिकाको रु नौ लाख गरी रु २० लाख रकम खर्च भइसकेको भण्डारीले बताउनुभयो । “हामीले सहस्रधारा झरनालाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेका छौँ”, भण्डारीले भन्नुभयो, “क्यानोनिङ खेलका लागि रु चार लाख बराबरको आवश्यक सामाग्री खरिद गरिसकेका छौँ, कोराना महामारीपछि स्थानीय एक दर्जन युवालाई क्यानोनिङको तालिम दिन्छौँ ।”

झरनामा क्यानोनिङ खेल सञ्चालनका लागि सफल परीक्षणसमेत भएपछि व्यावसायिकरूपमै वडा कार्यालयले क्यानोनिङ शुरु गर्न थालेको हो । हालसम्म झरनामा पुग्ने पदमार्ग, झरनामा पोखरी निर्माण, शौचालय, पोसाक परिर्वतन कोठा, बगैँचा निर्माण भएको छ । झरनाको पानीले बर्खामा पदमार्ग बगाउन थालेपछि आगामी वर्ष पक्की नाली निर्माण गरी झरनाको पानी व्यवस्थित गर्ने वडा कार्यालयको योजना छ ।

आन्तरिक पर्यटक शङ्कर जिसीले झरना आसपासमा अझै भौतिक संरचनाको अभाव रहेको भन्दै भौतिक संरचना निर्माण गर्दा झरनाको प्राकृतिक रूप बचाउनुपर्ने बताउनुभयो । वडा कार्यालयले तीन वर्षअघि झरनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको छ । डिपिआरमा झरना हेर्नका लागि झोलुङ्गे पुलदेखि स्विमिङ पुलसमेत बनाउने उल्लेख छ । झरना नजिकै गलकोटका ओम पन्तले रिसोर्टसमेत निर्माण गरिरहनुभएको छ ।

कोरोना महामारी र बन्दाबन्दीकै अवस्थामा बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र स्थापित गन्तव्यमा स्वास्थ्य सुरक्षा अपनाएर घुम्ने काम भइरहेको छ । बन्दाबन्दीमै बागलुङ–६ र ७ को सिमानास्थित बैजनीको पाखोमा बुद्धको आकृति भएको पहाड फेला परेपछि नयाँ गन्तव्यका रूपमा बुद्ध हिल नामकरण गरी प्रचारप्रसार समेत थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस