जोखिमयुक्त बस्तीको अस्थायी स्थानान्तरणः स्थायी व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गरिँदै

जोखिमयुक्त बस्तीको अस्थायी स्थानान्तरणः स्थायी व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले मुलुकका विभिन्न क्षेत्रमा जोखिममा परेको समुदायको सुरक्षित आवासका लागि अस्थायी स्थानान्तरण प्रक्रिया थालेको छ । मनसुनजन्य विपद्का कारण जोखिममा परेका समुदायको सुरक्षित बसोबासका लागि अस्थायी बासस्थानको व्यवस्थापन थालिएको छ ।

स्थायी व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गर्नुपर्ने हुँदा आवश्यक प्रक्रियासमेत शुरु गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसपालि सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकबाट उक्त प्रक्रिया थालिएको हो । सिन्धुपाल्चोकमा विपद्जन्य जोखिमबाट यस वर्ष ५३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जिल्लास्थित विपद् जोखिम व्यवस्थापन समितिमार्फत सिन्धुपाल्चोकमा अस्थायी बसोबासका लागि ६०० त्रिपाल उपलब्ध गराइसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्य जिल्लाको बस्ती व्यवस्थापनमा समेत आवश्यक कार्यविधि बनाउने चरणमा छ ।

पहिरो प्रभावित तथा जोखिम क्षेत्रका केही मानिस अस्थायी आश्रयस्थलमा बस्न थालिसकेका छन् । अन्य क्षेत्रमा समेत स्थानान्तरणको काम थालिने जनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा यही भदौ ८ मा राजधानीमा भएको एक बैठकले जोखिमयुक्त बस्तीको प्राविधिक अध्ययन गर्ने र पुनःसर्वेक्षणको काम थाल्ने सहमति भएको छ ।

उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी हुनुहुन्थ्यो । उक्त बैठकमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले तत्कालको राहत व्यवस्थापन गर्ने र स्थानीय तहले सुरक्षित स्थानमा जग्गाको व्यवस्थापन गर्ने तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भौगर्भिक अध्ययन गर्ने गरी सहमति भएको थियो । सोही सहमतिअनुसार बस्ती व्यवस्थापनमा पुनःनिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तोकिएअनुसारका काम अघि बढाउने छन् ।

पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भौगर्भिक अध्ययनको आवश्यक तयारी थालिएको बताउनुभयो । उहाँका अनुसार यसअघि विसं २०७२ को भूकम्पका बेला मुलुकभरका २६ जिल्लाका २९९ बस्ती जोखिममा रहेको प्रमाणित भएको थियो । ती बस्तीको स्थानान्तरण प्रक्रिया अहिले पनि जारी छ । झण्डै पाँच हजार लाभग्राहीमध्ये तीन हजार सरिसकेका छन् । यस वर्षको विपद्का कारण विभिन्न क्षेत्रमा क्षति पुगेपछि पुनःभौगर्भिक अध्ययन गर्ने कुरा आएको उहाँले बताउनुभयो । भौगर्भिक अध्ययनमा आवश्यक प्राविधिक सहयोग खानी तथा भूगर्भ विभागबाट लिइनेछ ।

सिन्धुपाल्चोकको लिदीमा ३१ जनाको मृत्यु हुने गरी खसेको पहिरोग्रस्त क्षेत्रलाई भने प्राधिकरणले समूह २ मा राखेको थियो । समूह २ लाई बस्ती स्थानान्तरण गर्नुपर्ने नभई संरक्षण गर्नुपर्ने हुन्छ । उक्त बस्तीमा माथिबाट पहिरो खसेकाले ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले अध्ययन गर्न जाने भन्ने कुरा भए पनि कोरोनाका कारण केही ढिलाइ भइरहेको जानकारी दिनुभयो ।

विगतमा सात प्रदेशका आठ बस्ती स्थानान्तरणको जिम्मा लिएको विभागल अध्ययनकै चरणमा राखेको छ । सबैभन्दा समस्या जग्गा व्यवस्थापनमा रहेकाले स्थानान्तरणमा चुनौती देखिँदै आएको गेलालले बताउनुभयो । सिन्धुपाल्चोकमा गत असार र साउनमा मात्रै बाढी र पहिराका कारण ५३ जनाको मृत्यु भएको तथा २६ जना बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

त्यहाँ १०५ घर पूर्णरुपमा क्षतिग्रस्त छन् । ढकालका अनुसार जोखिम क्षेत्रका बस्तीको अस्थायी स्थानान्तरणका लागि जिल्लाका स्थानीय तह र सरोकार निकायले समन्वयात्मकरुपमा काम गरिरहेका छन् ।

बस्तीको स्थायी व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको अध्यक्षतामा समिति बनेको र त्यसको अध्ययनका आधारमा आवश्यक निर्णय हुने जनाइएको छ । लिदीलगायत क्षेत्रका बासिन्दालाई बाँसखर्कमा अस्थायी आवास निर्माणसमेत भइसकेको छ । यस वर्ष मुलुकभर पहिराका कारण २३० जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता छन् । रासस