धान गोडमेल गर्ने समय भइसक्यो, मल छैन

धान गोडमेल गर्ने समय भइसक्यो, मल छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गर्नुभयो । “दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,” उहाँले भन्नुभयो, “मल नै हाल्न नपाएपछि खेती सप्रिएला जस्तो लागेन ।” ५० केजी मल आवश्यक भए पनि बजारमा कति पनि मल नपाइएको उहाँले बताउनुभयो ।

“कृषि सामग्री कम्पनी तनहुँमा फोन गरेर मल आयो भनेर सोध्छु तर मल आएको खबर आउँदैन”, पौडेलले भन्नुभयो । हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको उहाँको भनाइ छ । “अब चाहिएको बेला नपाइएपछि कृषकहरुलाई खल्लो अनुभव हुँदोरहेछ, मल नै हाल्न नपाएपछि उत्पादन घट्ने निश्चित छ”, उहाँले भन्नुभयो । सरकारले कृषकलाई कृषि खेतीमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको किसानको गुनासो छ ।

भिमाद नगरपालिका–९ भाटडाँडाका रुद्रबहादुर क्षेत्रीले धान गोडमेल गरिसके पनि मल अभाव भएको बताउनुभयो । जताततै मलको खोजीका लागि भाँैतारिए पनि मल पाउन नसकेको क्षेत्रीको गुनासो छ । “मलाई सात केजी मात्रै भए पनि पुग्थ्यो तर जिल्लाभर नै मल पाउन सकिएन”, उहाँले भन्नुभयो ।यसपटक समयमै वर्षा भए पनि चाहिएको बेला मल नपाइएपछि कृषकमा निराशा छाएको छ । कोभिड–१९ को सङ्क्रमण र त्यसपछि गरिएको बन्दाबन्दीले शहर छिरेका व्यक्ति पनि गाउँ आएर कृषि खेतीमा लागेका थिए । समयमै धान खेती सकिएको भए पनि मल नपाइएपछि कृषकहरुले जतिसक्दो मल उपलब्ध गराइदिन माग गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख बलबहादुर पन्थले बर्षेनी मलको अभाव हुँदै आएको भए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको जानकारी दिनुभयो । “दुई महिनादेखि युरिया मल छैन, मल खरिदको प्रक्रिया शुरु हुने बेला बन्दाबन्दी भयो, समयमा टेन्डर प्रक्रिया हुन सकेन”,उहाँले भन्नुभयो । उहाँले प्रक्रिया पु¥याएर मल आइपुग्न अझै बढीमा पाँच महिनासम्म लाग्न सक्ने बताउनुभयो । लिमिटेडले अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा युरिया ५२० र डिएपी ४८९ मेट्रिक टन बिक्री गरेको जनाएको छ । कम्पनीमार्फत तनहुँ ७८, लमजुङ ३६ र गोरखाका चार सहकारीले मल बिक्री वितरण गर्दै आइरहेका छन् । रासस