शुक्लाफाँटाको वडा नं ८ हिँड्डुलमा प्रतिबन्ध

शुक्लाफाँटाको वडा नं ८ हिँड्डुलमा प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पूर्ण रुपमा बन्द गरिएको छ । आजदेखि एक हप्ता सम्मका लागि वडालाई पूर्णरुपमा बन्द गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

होम क्वारेन्टिनमा बसेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वडाभित्र हिँड्डुलमा प्रतिबन्ध लगाइएको छ । “वडा क्षेत्रमा भेला हुन, हिँड्डुल गर्न बन्द गरिनाका साथै वडा कार्यालयसमेत बन्द गरिएको छ । सार्वजनिक ठाउँमा अनावश्यक भीडभाड नगर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सबैमा अनुरोध गरेका छौँ”, वडाध्यक्ष महराले भन्नुभयो ।

वायोग्यास निर्माण गर्न अनुदान

वनमाथिको निर्भरता कम गरी वातावरण सन्तुलनमा योगदान पु¥याउन शुक्लाफाँटा नगरपालिकाले वायोग्यास निर्माणमा अनुदान रकम उपलब्ध गराउन थालेको छ । दुई वर्षदेखि नगरपालिकाले निरन्तररुपमा वायोग्यास निर्माणका लागि अनुदान रकम उपलब्ध गराउँदै आएको हो ।

नगरपालिकाले वायोग्यास निर्माणका लागि रु सात लाख रकम विनियोजन गरी परिचालन गरेको छ । शौचालयसहित वायोग्यास निर्माणका लागि नगरपालिकाले प्रतिप्लान्ट रु २० हजार अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । यस वर्ष अनुदान रकमबाट १६ वटा प्लान्ट निर्माणको कार्य गरिएको छ भने २५ वटा प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएको नगरपालिकाको ऊर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टले बताउनुभयो ।

गत आवमा नगरपालिकाले अनुदान रकम उपलब्ध गराई ४५ प्लान्ट निर्माण गरेको थियो । गत वर्ष रु १४ हजार ४०० का दरले बायोग्यास प्लान्ट निर्माण गर्नेलाई अनुदान रकम प्रदान गरिएको थियो ।

अनुदान रकममा बायोग्यास प्लान्ट जडान गरिएपछि स्थानीय बासिन्दालाई दाउराको जोहो गर्ने झन्झट हटेको छ । “वायोग्यासबाट निस्केको मल खेतबारीमा हाल्न सकिने हुन्छ”, शाखाप्रमुख भट्टले भन्नुभयो, “जसबाट बालीनाली र तरकारी खेती गर्ने किसानले फाइदा लिन सक्छन् ।” वायोग्यासबाट गृहिणी र बालबालिकामा श्वासप्रश्वासको समस्या समेत नहुने उहाँको भनाइ छ ।

घरायसी वायोग्यास प्लान्ट निर्माण गर्न कम्तीमा पनि रु ८० हजारभन्दा बढी रकम खर्च हुने गरेको छ । कञ्चनपुरमा पाँच हजार वायोग्यास प्लान्ट स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा दुई वटा वायोग्यासका ठूला प्लान्ट र ४० हजार घरायसी प्रयोजनका प्लान्ट सञ्चालनमा रहेका छन् । रासस