पोखरा वृद्धाश्रमले सःशुल्क सेवा दिने

पोखरा वृद्धाश्रमले सःशुल्क सेवा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समाजका विपन्न, असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकको सेवामा समर्पित पोखरा वृद्धाश्रमले सःशुल्क सेवाको तयारी समेत गरेको छ ।

बुढेसकालमा छोराछोरी परिस्थतिले टाढा भएर माया एवम् सेवाबाट वञ्चित तथा आर्थिक अवस्थामा राम्रो भएर पनि आफन्त नभएका आमाबुबालाई पोखरा वृद्धाश्रमले निश्चित शुल्कसहितको आश्रम सञ्चालन गर्न लागेको हो ।

सःशुल्क आश्रमबाट भएको आम्दानीले असहाय एवम् अपहेलित जेष्ठ नागरिकलाई निःशुल्क सुविधा प्रदान गरि सेवा र धर्मको माध्यमबाट वृद्धाश्रमको निरन्तरतामा सहयोग पुग्ने पोखरा वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुल्क लिएर आश्रम सञ्चालन गर्नका लागि वृद्धाश्रम परिसरमा सुविधा सम्पन्न आवश्यक भौतिक संरचना तयार गरिएको छ । पहिलो पटक छ वटा कोठाबाट शुरु गर्ने तयारी भइरहेको र आवश्यकता अनुसार कोठा थप गरिने छ । “जीवनको उत्तरार्धमा आएर आफन्त कोही पनि नभएका, भएर पनि घरपरिवारबाट अपहेलित ज्येष्ठ नागरिकको सेवामा जुटेका छौ”, उहाँले भन्नुभयो, “सःशुल्क सेवा सहितको आश्रमबाट प्राप्त रकमले आश्रममा रहेका अन्य विपन्न वर्गका आमाबुबाको पालन पोषणमा खर्च जुटने छ ।”

सःशुल्क आश्रमका लागि एउटै कोठामा तातो पानीसहित वाथरुम, शौचालय आदिको सुविधा मिलाइएको छ । एउटा कोठाको एक मुष्ट पाँच लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसमा आश्रमको भान्छामा पाकेको खाना, चिया, खाजाको समेत व्यवस्था गरिने छ । वृद्धाश्रमको सेवा सुविधाभन्दा बढी आवश्यकता परेमा लाग्ने खर्च स्वयं व्यक्तिले ब्यहोर्नुपर्ने जानकारी दिदैं अध्यक्ष पराजुलीले समितिले थप शुल्क लिएर फिजियो र नेच्युरल थेरापीको समेत व्यवस्था गर्ने बताउनुभयो ।

वृद्धाश्रममा बस्न इच्छुकका लागि समितिले सार्वजनिक सूचना प्रकाशित गरेको र चार वटा निवेदन परिसकेको छ । निकट भविष्यमा हुने साधारण सभा पश्चात सःशुल्क वृद्धाश्रम सञ्चालन गरिने योजना रहेको छ । समितिका सचिव केशव लम्सालका अनुसार वृद्धाश्रम जनस्तरको सहयोगबाट सञ्चालन हुँदै आएको छ । आश्रममा दिनप्रतिदिन बढ्दो सङ्ख्या एवम् महंगीको कारण परेको अप्ठेरो पस्थितिमा केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

२०५३ सालमा स्थापना गरि सञ्चालनमा आएको पोखरा वद्धाश्रममा अहिले ५५ जना अश्रित हुनुहुन्छ । आमाबुबाको पालन पोषण र सेवकसेवीकाको पारिश्रमीकसहित मासिक रु सात लाख ५० हजार खर्च हुने गरेको व्यवस्थापन समितिका सदस्य श्रीनाथ आचार्यले बताउनुभयो । रासस