दक्षिण एशियाकै पहिलो सुरुङ मार्ग, चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहमा अनुसन्धान केन्द्र

दक्षिण एशियाकै पहिलो सुरुङ मार्ग, चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहमा अनुसन्धान केन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेश सरकारले चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहलाई पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । तीनवटै आयोजना ऐतिहासिक महत्वका भएकाले अनुसन्धान केन्द्रका रुपमा विकास गर्न लागिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गरेपछि बाह्य एवं आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्न सकिने सोच प्रदेश सरकारले अघि सारेको छ । विसं १९६८ मा निर्माण गरिएको जलविद्युत् आयोजना चन्द्रज्योति विद्युत् गृह एशियाको दोस्रो र नेपालकै पहिलो हो । दक्षिणकाली नगरपालिकामा पर्ने यो जलविद्युत् गृहलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जनाइएको छ ।

विसं १९६८ जेठ ९ गतेदेखि ५०० किलोवाट क्षमताको विद्युत् उत्पादन शुरु भएको थियो । रु सात लाख १३ हजारको लागतमा निर्माण भएको यो आयोजनाको विद्युत् फर्पिङबाट उत्पादित विद्युत्लाई ११ केभी वितरण प्रणालीद्वारा काठमाडौँ उपत्यकामा आपूर्ति गरिएको थियो । बेलायत सरकारको आर्थिक सहयोगमा यो आयोजना निर्माण भएको थियो ।

विसं १९७८ मा निर्माण शुरु गरिएको सुन्दरीजल विद्युत् गृह नेपालको दोस्रो जलविद्युत् आयोजना हो । यहाँबाट विसं १९९१ देखि जलविद्युत् उत्पादन शुरु भएको थियो । सरकारकै स्रोतमा निर्माण भएको भने यो पहिलो आयोजना हो । यहाँबाट ६४० किलोवाट विद्युत् उत्पादन भएको छ । यो आयोजना गोकर्णेश्वर नगरपालिका–१ मा पर्छ । वाग्मती नदीबाट ल्याएर सुन्दरीजल बसपार्क नजिकैको आयोजनामा विद्युत् निकाली बाँकी रहेकोे पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा पिउनका लागिसमेत वितरण गरिरहेको छ ।

दक्षिण एशियाकै मानव निर्मित यातायात प्रयोजनको पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्छ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्ली जङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल यो मार्गको २८० मिटरमात्र बाँकी रहेको जनाइएको छ ।

तीनैवटा सम्पदाको सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास एवं संरक्षणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको पनि उहाँले सुनाउनुभयो । रासस