ढोरपाटन बाढी ः बाढीपीडितलाई खाने बस्नेकै समस्या

ढोरपाटन बाढी ः बाढीपीडितलाई खाने बस्नेकै समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ मा गत बुधबार रातिको बाढीपहिरोपीडितका लागि विभिन्न संस्थाले राहत वितरण थालेका छन् । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार घटनास्थलमा पुगेर पीडितलाई चामल र त्रिपालसहितको राहत सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रममा ७६ परिवार पीडितमा सूचिकृत गराएर राहत बाँडिएको हो । पहिरोले अझै धेरै बेपत्ता छन् । मृतक र बेपत्ताका बाँचेका परिवारका सदस्यलाई तत्काल खानेबस्ने र लत्ताकपडाको समस्या छ ।

घटनास्थल पुगेर केही संघसंस्था सामग्री वितरणमा लागेका हुन् । यसै क्रममा राधामाधव सेवा समितिले पहिरोपीडितलाई नगद रु एक लाख वितरण गरेको छ । समितिका सचिव दिपक कँडेलसहितको टोलीले घटनास्थलमै पुगेर रकम सहयोग गरेको हो । गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले समितिकोतर्फबाट दिइएको रकम हस्तान्तरण गर्नुभयो । उक्त रकममध्ये ५० हजार वडा नं ९ का अध्यक्षलाई हस्तान्तरण गरिएको थियो भने ५० हजार पीडितलाई दिइएको हो ।

मृतक करबहादुर विकको बाँचेका परिवारमा १० हजार, डल्ले विकको दाजु महेश विकलाई रु १० हजार, केशमाया विकको ठूलो बाबा वीरभक्त विकलाई रु १० हजार, बेपत्ता परिवारबाट रुकबहादुर घर्तीलाई रु पाँच हजार, पुजा विकलाई रु पाँच हजार, केयरसिंह विकलाई रु पाँच हजार र लीला विकलाई रु पाँच हजार दिइएको थियो ।

पहिराले ढोरपाटनका १५ जनाको ज्यान गएको छ । अझै २३ जना बेपत्ता छन् । पहिराले ८० घर पूर्णरुपमा र ५१ घरमा आंशिक क्षति पुगेको बताइएको छ । घटनामा कतिपयको नाम निसाना हराएको छ भने कतिपय सामान्य क्षति भएका पनि छन् । रुद्रताल, बिजौरी, भुजीखोला चौथो र पाँचौँ गरी चार जलविद्युत् पूर्णरुपमा ध्वस्त भएका छन् । २० किमी मोटरबाटो ध्वस्त भएको छ । एउटा फर्निचर उद्योग बगाएको छ । स्थानीयका ११ मोटरसाइकल, दुई जीप र एक ट्रयाक्टर पनि बगाएको छ ।

घटनाको उद्धार कार्य जारी रहेकै बेला काँग्रेस क्षेत्रीय सभापति द्रोण कुँवर नेतृत्वको टोलीले पनि खाद्यान्न र त्रिपाललगायतका सामग्री सहयोग गरेको थियो । पीडितलाई नेपाल रेडक्रस सोसाइटीले लत्ताकपडा, त्रिपाल र पकाउने भाँडा सहयोग गरेको छ । नेकपा निकट युवा संघले खोजी उद्धारमै खटिएर सहयोग गरेको थियो । उनीहरुले पीडितलाई खाद्यान्नसमेत सहयोग गरेका छन् । ताराखोला गाउँपालिका, निसीखोला, तमानखोला र बडीगाड गाउँपालिकाका अध्यक्ष र प्रतिनिधि गएर पीडितलाई नगद र खाद्यसामग्रीसमेत दिएका थिए । गलकोट सेवा समितिले पीडितका लागि लाखौँ रकम सङ्कलन थालिसकेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पनि राहत सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

पीडितलाई बासै नभएकाले यो बेला राहतसँगै बस्ने व्यवस्थापनको खाँचो छ । झरी र वर्षात्को हिलाम्मे जमिन भएकाले पाल टाँगेर पनि पीडित बस्न नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन् । स्थानीय सुस्मीता विकले पाल टाँगेर पनि कष्टकर बसाइ भएको गुनासो गर्नुभयो । उहाँको परिवारका सबै सदस्य बेपत्ता छन् । रासस