नेपाली काँग्रेसले पार्टीको केन्द्रीय मुखपत्र ‘नेपाल पुकार’ प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने भएको छ ।
काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिमार्फत यही भदौ २० र २१ गते सम्पन्न बैठकले सो निर्णय गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो ।
विभागीय प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले काँग्रेसलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधिमैत्री बनाउँदै अघि बढ्ने अभियान शुरूवात गर्ने निर्णय गरेको हो । बैठकले ‘प्रविधि मैत्री अभियान’ को शुरूवातमा पार्टीको वेबसाईटलाई यथाशीघ्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने तथा प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले गोवर्धन राना मगरको संयोजकत्वमा वेबसाईट संयोजन उपसमिति, डा. सुरेश आचार्यको संयोजकत्वमा छहारी सम्वाद संयोजन, ई. दिपेश विष्टको संयोजकत्वमा प्रविधि संयोजन, नीर शाहको संयोजकत्वमा टेलिभिजन नेटवर्क सूचना संयोजन, गोपाल झाको संयोजकत्वमा रेडियो नेटवर्क सूचना संयोजन र दिनेश थापा मगरको संयोजकत्वमा नियमित सूचना सम्प्रेषण संयोजन उपसमिति गठन गरेको छ ।
यसैगरी बैठकले कोरोना सङ्क्रमणको वृद्धिदर र मृत्युदर दुवै तिब्रतर ढङ्गले बढ्दै गएको स्थितिमा जनचेतनामा निर्वाह गर्न सरकारलाई दिने सुझाव अवधारणा निर्माण गर्न डा.अन्जनी झाको संयोजकत्वमा ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ । त्यस्तै बैठकले विभिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक सम्वाद रणनीति निर्माण गर्न बजरङ्ग नेपालीलाई अध्ययन कार्यदलको संयोजकको अभिभारा सुम्पेको छ ।
पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्ने सम्बन्धमा प्रविधिमार्फतको विशेष अभियान अघि बढाउन आवश्यक रणनीति र योजना निर्माण गरि प्रस्तुत गर्न विकल राईलाई कार्यदल संयोजकका रूपमा जिम्मेवारी सुम्पिएको छ । रासस
प्रतिक्रिया