सीमा क्षेत्रको बगर संरक्षणमा जुटे स्थानीयवासी

सीमा क्षेत्रको बगर संरक्षणमा जुटे स्थानीयवासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलालीको टीकापुर–७ स्थित बगरमा परिणत भएको जमीन संरक्षणमा स्थानीय जुटेका छन् । वर्षौदेखि नदी कटान र पटान भएर खेती गर्न नसकिएको जमीनलाई स्थानीयले सामुदायिक वनका रुपमा विकास गर्न थालेका छन् ।

कैलालीको टीकापुर–७ कालाकुण्डा क्षेत्रमा मोहना नदी कटानले बनाएको बगरमा शुक्रबार वृक्षरोपण गरिएको छ । प्रस्तावित कालाकुण्डा सामुदायिक वनमा उपभोक्ताले चार हजार ५०० बिरुवा रापेका हुन् । बिरुवा रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरले उपलब्ध गराएको हो । प्रस्तावित सामुदायिक वनका अध्यक्ष भिउराज साउदले आयोजनासँग बिरुवा माग गरेर वृक्षरोपण गरेको बताउनुभयो । ‘‘हामीले जमीन संरक्षणका लागि सामुदायिक वनका रुपमा विकास गर्ने योजना बनायौँ’’, साउदले भन्नुभयो, ‘‘ नदी कटानले हैरान भएका स्थानीय वृक्षारोपण भए नदी कटान न्यूनीकरण हुने आशामा छन् ।’’

कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीका साथमा बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि चार हजार ५०० वृक्षरोपण गरिएको छ । तस्वीर ः दुर्गा देवकोटा÷रासस

स्थानीयले वन बनाउन थालेपछि त्यहाँ सिसम, खयर, बेत, लिप्टिस, ताकी, कोइरालो, बकाइनो, सिरिस र अमालाका बिरुवा रोपिएका हुन् । केही वर्ष अघिसम्म भारतले आफ्नो दाबी गर्दै आएको त्यहाँ गत वर्ष नेपाल र भारतको संयुक्त सर्वे टोलीले सीमा स्तम्भ मर्मत गरेपछि नेपालकै जमीन भएको टुङ्गो लागेको हो । जमीन सधैँ बाझो रहने भएकाले स्थानीयस्तरमा छलफल गरी सामुदायिक वनका रुपमा विकास गर्न थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । ढुङ्गानाले भन्नुभयो, ‘‘अब वन बनाएर नदी कटान नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षण गर्नुका साथै डल्फिन क्षेत्रको विकास गर्नेछौँ ।’’

स्थानीयस्तरबाट वृक्षरोपण गरी संरक्षण गर्न थालिएको जग्गा डल्फिन क्षेत्रको हो । मोहना नदीको किनारमा रहेको जमीन संरक्षण गर्ने योजनाले नदी कटान नियन्त्रणमा सघाउ पुग्ने स्थानीयको अपेक्षा छ । साथै सामुदायिक रुपमा प्रयोग विहीन जमीन प्रयोग गरेमा स्थानीयलाई आवश्यक घाँस दाउरा जुटाउन समेत सहयोग पुग्ने संरक्षणकर्मी जयप्रसाद ढुङ्गाना बताउनुहुन्छ । ‘‘मोहना र पथरैया नदीको दोभानमा डल्फिन पाइन्छ । त्यस क्षेत्रलाई डल्फिन क्षेत्रका रुपमा विकास गरिरहेका छौँ’’, जयप्रसाद भन्नुहुन्छ । रासस