मेचीनगरका दुई महिलाको मिर्गौला उपचारमा आर्थिक अभाव

मेचीनगरका दुई महिलाको मिर्गौला उपचारमा आर्थिक अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेचीनगर नगरपालिकाका आर्थिकरुपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको छ । वडा नं १० की १७ वर्षीया अरिस्ता परियार र वडा नं ९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो । उहाँहरुको हप्तामा दुई पटक डाइलासिस गरिँदै आएको छ ।

धुलावारी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी अरिस्ताको उपचारमा आर्थिक अभाव भएका कारण सहयोगका लागि वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा सहयोग समिति गठन गरिएको आमा लक्ष्मी परियारले बताउनुभयो ।

दुवै मिर्गौला खराब भएकी निर्मला ढुङ्गानालाई चिकित्सकले तत्काल मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको र छोरीका लागि एउटा मिर्गौला दिन आफु तयार रहेको आमा लक्ष्मीमाया ढुङ्गानाले बताउनुभयो । बिहे गरेको तीन महिनापछि निर्मलाको मिर्गौलामा खराबी देखा परेको थियो । उहाँको उपचारमा रु. २० लाखभन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ । उहाँको उपचारमा सहयोग जुटाउन गिरिराज धमलाको संयोजकत्वमा बचाउ समिति गठन गरिएको छ ।

मिर्गौला खराब भएपछि डाइलासिस र औषधि निकै महंगो पर्ने तथा नयाँ मिर्गौला प्रत्यारोपण खर्च अरिस्ता र निर्मलाजस्ता विपन्न परिवारले धान्न नसक्ने मेची उद्योग वाणिज्य सङ्घका महासचिव ध्रुव कनाल बताउनुभयो । मिर्गौला खराबी भएर थलिनुभएकी अरिस्ता र निर्मलालाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको हुँदा आर्थिक सहयोग जुटाउन अपिल गरिएको कनालले बताउनुभयो । रासस