मूल भन्सारको पीडा, एउटै भवनमा सबै काम : सेवा प्रवाहको काममा समस्या

मूल भन्सारको पीडा, एउटै भवनमा सबै काम : सेवा प्रवाहको काममा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भजनी, ३१ भदौ । कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालय मूल भन्सारको रूपमा स्तरोन्नति भएको दुई वर्ष भइसक्दा पनि आवश्यक संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । सत्ती छोटी भन्सार हुँदा निर्माण भएका संरचनाबाटै कामकाज भइरहेको भए पनि कार्यालयका लागि चाहिने आवश्यक संरचना निर्माण हुन नसक्दा सेवा प्रवाहको काममा समेत समस्या हुँदै आएको छ । गत आर्थिक वर्षमा यात्रु सहायता कक्ष, भन्सार कार्यालयमा घेरा पर्खाललगायत संरचना निर्माणका लागि करिब रु तीन करोड बजेट आएको भए पनि कुनै काम नै नगरी पूरै रकम फ्रिज गएको कार्यालयका सूचना अधिकारी धर्मराज विकले बताउनुभयो । “विभागबाट बजेट आएको थियो । कोरोनाको कारण कुनै प्रक्रिया नै अगाडि बढ्न सकेन”, सूचना अधिकारी विकले भन्नुभयो, “बजेट फ्रिज गयो, काम गर्न सकिएन । भन्सारको समस्या जस्ताको तस्तै छ ।”

भन्सार कार्यालयसंँग एउटै भवन मात्र छ । त्यही भवनमा कर्मचारीको आवास, कार्यालय, गोदाम छ भने एक कोठा बैंकलाई पनि दिइएको छ । संरचना अभावकै कारण खाद्यान्न, तरकारी, फलफूल तथा पशु जाँचको गुणस्तर परीक्षण केन्द्रसमेत सञ्चानलन हुनसकेको छैन । व्यवसायीहरु त्यस्ता सामानको आयातका लागि भारत नेपालको छोटो दूरी सत्ती भन्सार भए पनि अझै कैलालीको त्रिनगर भन्सार वा नेपालगञ्जको रुपैडिया नाकालाई नै प्रयोग गर्नुपर्ने बाध्यता भएको बताउँछन् । स्थानीय तरकारी व्यवसायी समीर चौधरीले नजिकै भन्सार कार्यालय हुँदा पनि त्यसको सदुपयोग गर्न नसकेको बताउनुभयो । “नजिकै भन्सार कार्यालय छ तर, हामीले त्रिनगर कि त रुपैडिया भन्सार जानुपर्छ”, चौधरीले भन्नुभयो, “सत्ती भन्सार कार्यालयमै सबै सुविधा भएको भए धेरै खर्चको भार पर्ने थिएन र उपभोक्ताले पनि चर्को मूल्य तिर्नुपर्ने थिएन ।”

भन्सारमा सरुवा भएर आउने कार्यालय प्रमुखहरु कार्यालयभन्दा बढी बिदामा बस्ने भएका कारण पनि आएको बजेट खर्च हुन नसकेको स्थानीयवासीको गुनासो रहँदै आएको छ । चालू आर्थिक वर्षमा पनि भन्सार कार्यालयमा संरचना थपका लागि करिब रु दुई करोड आएको सूचना अधिकारी धर्मराज विकले बताउनुभयो । भन्सारले लाखौँ पर्ने बरामद भएका मोटरसाइकलको लिलामसमेत गर्न सकेको छैन । झन्डै १०० भन्दा बढी मोटरसाइकल भन्सार परिसरमा थन्किएका छन् । थन्किएका मोटरसाइकल दिनप्रतिदिन कवाड बन्दै गएको भए पनि गत वर्षदेखि भन्सारले ती सवारी साधनको लिलामी प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

बरामद गरी ल्याइएका मोटरसाइकलका बाहिरी पाटपुर्जासमेत गायव भएका छन् । भन्सार पु¥याएको हप्ता दिनमै मोटरसाइकलका महत्वपूर्ण पाटपुर्जा भन्सार कर्मचारीकै मिलेमतोमा गायव हुने गरेको स्थानीयवासीको भनाइ छ । बढीजसो चोरी–पैठारीमा प्रयोग भएका दुई नम्बरी मोटरसाइकल भन्सार पुग्ने गरेका छन् । रासस