कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी

कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै रु पाँच लाख आर्जन गरेका छन् । बन्दाबन्दीको समयमा पनि बोइलर कुखुरा पालेर आम्दानी लिँदै आउनुभएका लेकबहादुर विदेश जान नपाएपछि परिवारसँगै पौरख गर्न थाल्नु भएको हो ।

“पहिला पनि विदेश बसेर काम गरेको अनुभव थियो । यस वर्ष पनि विदेश जानका लागि पासपोर्ट भिसा तयारी गरेका थिए । जब विदेश जाने समय आयो मुलुकमा जारी बन्दाबन्दीका कारण जान पाइएन”, उहाँले भन्नुभयो, “कतारमा सेक्युरिटी गार्डको जागिर मिलेको थियो । विदेशमा सेक्युुरिटी गार्डको काम गरेर आम्दानी गर्ने योजना हुँदाहुँदै पनि कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण जारी बन्दाबन्दीले त्यसतर्फ जान पाइएन् ।” विदेश जान नपाएपछि आफ्नै जग्गामा व्यवसायिक रुपमा कुखुरापालन व्यवसाय गर्नुभएका लेकबहादुर बन्दाबन्दीको अबधिमा रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल हुनुभएको छ ।

थोरै लगानी र छिटै आम्दानी लिन सकिने कुखुरापालन व्यवसाय रोजेर काम गर्दा फाइदा पुग्ने थाहा पाएर आफूले यो व्यवसाय रोजेको उहाँको भनाइ छ । छ सय बोइलर कुखुरा पालेर रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल हुनुभएका लेकबहादुरले आफूलाई यही पेसाले काम र आम्दानी दुवै दिएको बताउनुभयो । विदेशमा भन्दा आफ्नै गाउँठाउँमा परिवारसँग बसेर बढी आम्दानी हुने भएपछि लेकबहादुरले अब विदेश जाने सोचाइ छाडेर यही व्यवसायमा रमाउने बताउनुभयो । विदेशमा गरिने कमाइभन्दा घरमै बसेर गरिएको मेहनतको आम्दानीले आफूलाई सन्तुष्टी दिएको उहाँको भनाइ छ ।

लेकबहादुर एउटा प्रतिनिधि पात्र मात्र हुन् । कोरोना महामारी ९कोभिड–१९० ले सिर्जना गरेको बरोजगारीले धादिङलगायत मुलुकका अन्य क्षेत्रका युवाका लागि स्वदेशमा नै व्यवसाय गर्ने अवसर प्राप्त भएको छ । यस्ता उद्यमीलाई राज्यले प्रोत्साहन गरेर बढ्दो बेरोजगार समस्याको समाधान गर्नुपर्ने देखिन्छ । हजारौं लेकबहाखुरले नेपालमा यस्तै प्रकृतिको भरपर्दो व्यवसाय गरे कुनै पनि नेपालीलाई विदेश जानु पर्दैन, स्वदेशमै बसेर मनग्य आम्दानी लिन सकिन्छ ।