युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन बिनाधितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु

युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन बिनाधितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खस्यौली, २ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन बिनाधितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा रु. चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।

पहिलो चरणमा रु दुई करोड कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवासँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै ७०० मध्ये पहिलो चरणमा छनोट भएका ८७ प्रस्तावलाई कर्जा दिन थालिएको हो । आज आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरेले १५ लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरणको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख घिमिरेले कर्जाको सदुपयोग गरी दिगो रुपमा व्यवसाय गर्न लाभग्राहीहरुलाई आग्रह गर्नुभयो । नगरपालिकाले आगामी दिनमा सहुलियत कर्जा वितरणलाई विस्तार गर्दै लैजाने जानकारी दिँदै उहाँले धितो राख्न नसक्ने निम्न आय भएकाहरुलाई लक्षित गरी यो कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

कोरोना महामारीको कारण रोजगारीका अवसर सङ्कुचित भैरहँदा नगरपालिकाले गत वैशाख २४ गते सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेकाहरुमध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनोट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप रु आठ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना छ ।

नगरपालिकाले सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको सञ्चित कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरेपछि बैंकले सहुलियत कर्जा दिएको हो ।

मूलतः विदेशबाट फर्किएका बेरोजगार युवालाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको ब्याजदर पुरुषको हकमा वार्षिक ३.९९ प्रतिशत र महिलाको हकमा वार्षिक २.९९ प्रतिशत छ । कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनु पर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडि पारिएको वर्ग समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । रासस