तनहुँमा ५० प्रतिशत दूध खपतमा ह्रास

तनहुँमा ५० प्रतिशत दूध खपतमा ह्रास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २ असोज । तनहुँमा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको हो । जिल्लामा दैनिक तीन हजार लिटर दूध सजिलै खपत हुने गरेको भए पछिल्लो समय कोरोना महामारीका कारण होटल व्यवसाय बन्दभएपछि एक हजार पाँच सय लिटर मात्र खपत भइरहेको जिल्ला दुग्ध उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार अहिले दैनिक तीन हजार लिटर दूध सङ्कलन भइरहेको छ । जिल्लामा खपत भएर बाँकी रहेको करिब एक हजार पाँच सय लिटर दूध पोखरास्थित सुजल डेरीमा पठाउने गरिएको छ ।

दूधको खपतमा कमी आएपछि सङ्घले घीउ, पनिर, नौनीलगायत दूधका परिकार बनाएर विक्री गर्दै आएको सङ्घका सचिव राजु भुजेलले बताउनुभयो । सङ्घले जिल्लाको व्यास, शुक्ला गण्डकी र भानु नगरपालिका तथा म्याग्दे, आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाबाट दूध सङ्कलन गर्ने गरेका छन् । खपतपछि सङ्कलन गरिएको दूधलाई चिलिङ भ्याटमा राखेर चिस्यान गरिने र दुग्धजन्य परिकार बनाएर विक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

गोरखा, लमजुङ र तनहुँ जिल्लामा उत्पादन गरिएको दूध सङ्कलन गर्ने गरी व्यास नगरपालिका–११ रानीगाउँस्थित सङ्घको आफ्नै भवन छ । विसं २०५३ मा भाडाको घरमा पाँच वटा दुग्ध सहकारी संस्थाबाट स्थापना गरिएको यो सङ्घमा अहिले १८ सहकारी संस्था आवद्ध भैसकेको सङ्घका अध्यक्ष यज्ञप्रसाद शर्माले बताउनुभयो । सङ्घले किसानबाट प्रतिलिटर ५६ देखि ५८ रुपैयाँमा दूध खरिद गर्ने गरिएको उहाँले बताउनुभयो ।
सङ्घको आफ्नै भवन ः

लामो समय देखि भाडाको घरमा सञ्चालन हुँदै आएको जिल्ला दुग्ध सहकारी सङ्घले आफ्नै भवन निर्माण गरेको छ । करिब एक रोपनी जग्गा खरिद गरी रु. ८० लाखको लागतमा भवन निर्माण गरेको सङ्घले जनाएको छ । सङ्घमा हाल २२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कम लागतमा बढी उत्पादन लिने नीति

कम लागतमा बढी उत्पादन लिनका लागि सङ्घले आवद्ध किसानलाई समय समयमा आवश्यक तालिम र गोष्ठीको आयोजना गर्दै आएको छ । सङ्घले व्यवसायिक पशुपालनतर्फ किसानलाई प्रोत्साहन गर्ने, किसानले उत्पादन गरेको दूध घरदैलोबाटै खरिद गर्ने र गुणस्तरयुक्त दाना उपलब्ध गराउने नीति लिएपछि दूध उत्पादनतर्फ किसान आकर्षित भएको अध्यक्ष शर्माको भनाइ छ ।
७५ प्रतिशत बोनस वितरण

सङ्घमा आवद्ध किसानलाई ७५ प्रतिशत बोनस वितरण गर्दै आएको छ । तीमध्ये २५ प्रतिशत सङ्घको जगेडा कोषमा र बाँकी रकम शेयर बोनसमा खर्च गर्ने गरिएको छ । सङ्घले वार्षिक १० देखि १५ करोड रुपैयाँको कारोबार गर्ने गरेको बताइएको छ । रासस