एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिंचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ ।
राजनीतिकर्मी चन्द्रप्रकाश बानियाँको ऐतिहासिक राजनीतिक विषयवस्तुको उपन्यासले नै गत वर्षको मदन पुरस्कार जितेको आज घोषणा गरिएको छ । म्याग्दी जिल्लाबाट निर्वाचित पूर्वसांसद चन्द्रप्रकाश बानियाँकृत सो उपन्यासमा पितृसत्तात्मक सामन्ती व्यवस्थाको संरचनामामा महिलालाई वस्तुकरण गरिएको सन्दर्भलाई समेत उठान गरिएको छ । ‘महारानी’मा मुख्य नायिकाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण गरिएको छ । तत्कालीन राजनीतिक खिंचातानी र स्वार्थमा महिलाको शरीरसमेत संवेदनहीन भई उपयोग गरिन्थ्यो भन्ने समयविम्ब समेत समेटिएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताउनुभयो ।
उहाँले ऐतिहासिक पक्षको अन्वेषण र उजागर गर्ने कृतिकारको अथक साधनालाई मदन पुरकार प्रदान गर्ने घोषणाले न्याय गरेको टिप्पणी पनि गर्नुभयो । ‘‘ धौलागिरि क्षेत्रकै साहित्यले गर्व गर्ने दिन बनेको छ, खोज र अनुसन्धानात्मकताले नै कृति योग्य ठहरिएको हुनुपर्छ’’, उहाँले भन्नुभयो ।
बेनी नगरपालिका –५ पुला भीरमुनि घर भई साहित्यिक र म्याग्दीको खोजमूलक लेखनमा सक्रिय बानियाँले प्राप्त गर्नुभएको पुरस्कार जिल्लाबाटै प्राप्त अहिलेसम्मकै उच्च तहको पुरस्कारका रुपमा हेरिएको छ । दर्जनाँै पुस्तक प्रकाशन गरिसक्नुभएका बानियाँ कथा, उपन्यासलगायत रचनासँगै स्तम्भ र समसामयिक विषयमा कलम चलाउँदै निरन्तर क्रियाशील हुनुहुन्छ । उहाँले यसअघि प्रकाशन गर्नुभएका ऐतिहासिक पर्वत राज्य र मृत्युसंस्कार मन्थन पुस्तक निकै लोकप्रिय मानिन्छन् । बानियाँको भौँज्याहा पुस्तक प्रकाशनको तयारीमा छ ।
प्रतिक्रिया