लोपोन्मुख लेप्चा सङ्ग्रहालयको प्रवद्र्धनका लागि उद्यान निर्माण

लोपोन्मुख लेप्चा सङ्ग्रहालयको प्रवद्र्धनका लागि उद्यान निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि यहाँस्थित सूर्योदय नगरपालिका (सूनपा) ले उद्यान बनाउन थालेको छ । सूनपाले लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो ।

सूर्योदय–१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको हो । तीन वर्षमा निर्माण सक्ने गरी थालिएको उद्यानको लागत रु एक करोड ८० लाख रहेको छ । गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो ।

“उद्यान निर्माण गर्दा बिहान–बेलुका ताजगी महसुस गर्नसमेत स्थानीय व्यक्ति आउने भएकाले यो काम शुरु गरिएको हो”, सूनपाका प्रवक्ता वीरबहादुर लेप्चाले भन्नुभयो, “नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालय हेर्न पाउँछन् ।” प्रवक्ता लेप्चाका अनुसार उद्यानको निर्माण गएको साउनदेखि शुरु गरिएको हो । अहिले यस स्थानमा भिरालो जग्गा मिलाउने काम भइरहेको छ । उद्यानको निर्माण सकिएपछि गुम्बा समितिलाई नै सञ्चालन गर्न दिइने लेप्चाको भनाइ छ ।

ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाको भनाइ छ । “यहाँ गुम्बा छ भन्ने यहीँका बासिन्दालाई थाहा छैन”, अध्यक्ष लेप्चाले भन्नुभयो, “उद्यान बनेपछि यो समस्या हट्छ भन्ने लागेको छ ।” उद्यानको अधिकांश क्षेत्रमा फूलबारी बनाउने नगरको योजना छ भने अन्य क्षेत्रमा ‘जिम’ हल र घुमघाम गर्ने क्षेत्र रहने छ ।

सङग्रहालयमा पुरातात्विक महत्वका सामग्री रहेको र ती सामग्रीको प्रवद्र्धन गर्न नगरले उद्यान निर्माण थालेको नगरप्रमुख रणबहादुर राईको भनाइ छ । संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि नगरले नयाँ कार्य शुरु गरेको उहाँको भनाइ छ । सूनपामा मात्र दुई हजार ३०० हाराहारीमा लेप्चा समुदायको बसोबास छ । रासस