निसीखोला पहिरो पिडित: कुखुराको खोरमा बास

निसीखोला पहिरो पिडित: कुखुराको खोरमा बास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पहिरोले घरमा क्षति पु¥याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका छन् ।

गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर बिकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका हुन् । बिकको १४ वर्षीय छोरा वीरेन्द्र बिक र छ वर्षीय नाती प्रवेश बिकसमेत उक्त पहिरोमा पुरिएर मृत्यु भएको थियो भने बिकको ५२ वर्षीया श्रीमती डिलसरा विक घाइते भएका थिए ।

पहिरो आएको दिन आफू घरभन्दा माथि रहेको गोठमा बस्नुभएका कारण बच्न सफल भएको बताउँदै हिराबहादुर बिकले घर र परिवारको सदस्य गुमाउँदा अहिले आफू अर्काको कुखुराको खोरमा बस्दै आएको दुखेसो गर्नुभयो । “रातिको खाना खाएपछि म माथि गोठमा सुत्न गएका थिए । तल घरमा श्रीमतीसहित छोराछोरी र नाति बसेका थिए । राति ठूलो पहिरो आएर घरसहित परिवारका दुई जना सदस्यलाई समेत परिएछ”, उहाँले भन्नुभयो, “अहिले हामी घर न घाटको भयौं, घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यलाई लिएर अर्काको कुखुराको खोरमा खोरमा आश्रय लिन बाध्य भएको छु ।”

आर्थिक अवस्था नाजुक रहेको ६० वर्षीय हिराबहादुर साना दुई छोरी र श्रीमतीसहित अहिले स्थानीयवासी धर्मराज पोखरेलको कुखुरा खोरमा आश्रय लिएर बसिरहेका छन् । “पोखरेलले घर नबन्दा सम्मका लागि कुखुराको खोरमा बस्नु भन्नुभएको छ”, उहाँले भन्नुभयो, “खुला आकाशमुनि बस्नुभन्दा यही खोरमा बस्न ठिक छ ।” गरिबीका कारण हिराबहादुरको घर बनाउन सक्ने अवस्था पनि छैन । गाउँघरमा मजदूरी गरेर ६ जना छोरोछोरीको लालनपालन गर्दै आएका बिक पहिरोले घरनै बगाएपछि ठूलो सङ्कटमा परेको छ ।

बिकको तीन छोराछोरीमध्ये जेठी छोरी विवाह भइसकेको छ भने जेठो छोराले पनि बिहे गरेर सुसुराली तिरै बस्दै आएका छन् । कान्छो छोराको पहिरोमा पुरिएर ज्यान गएको छ भने माहिलो छोरा रोजगारिका लागि घर बाहिर छन् । पहिरोले भएको अन्नपात र लत्ता कपडा सबै बगाएपछि अहिले उनको दैनिक गुजारा चलाउन समेत समस्या भएको छ ।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आइतबारदेखि निरन्तर परेको वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

गलकोट र बडिगाड खण्डमा खसेका पहिरोले यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार गलकोट नगरपालिका–७ आँगाखेत नजिकै र बडिगाड गाउँपालिका–२ राक्से भन्ने स्थानमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । वर्षापछि सडक हिलाम्मे हुँदा बागलुङ नगरपालिकाको बोक्सेमा पनि सवारी साधन वारपार गर्न नसकेको स्थानीयवासीले जनाएको छ ।

लोकमार्ग अवरुद्ध भएपछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै रुकुम पुग्ने सवारीसाधनहरु समस्यामा परेका छन् । एक हजार ७७६ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सबैभन्दा बढीं १४२ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ । जसमध्ये ५२ किलोमिटर सडक अझै कालोपत्र हुन सकेको छैन ।

‘स्मृति पार्क’ निर्माण

बागलुङका पूर्वसांसद स्वर्गीय गोविन्द अधिकारीको स्मृतिमा पार्क निर्माण गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ सीर्पालीमा ‘गोविन्द अधिकारी स्मृति पार्क’ निर्माण गरिएको हो ।

सामुदायिक वनले उपलव्ध गराएको झण्डै २० रोपनी जग्गामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालको रु. २० लाख र रु. दुई लाख जनश्रमदान गरी कूल रु २२ लाखको लागतमा निर्माण गरिएको सो पार्कलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको गोविन्द अधिकारी मेमोरियल फाउण्डेशनका संस्थापक सचिव खिमानन्द कँडेलले बताउनुभयो ।

जनसेवाका लागि गलकोट जानेक्रममा पार्क निर्माण स्थलमा नै सांसद अधिकारीको हृदयघातका कारण निधन भएको थियो । सोही स्थानमा पार्क निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिनुभयो । पार्कमा चारवटा कटेज, पाँच वटा फलामे कुर्सी, ट्रसको छाप्रो, मन्दिर, पक्की शौचालय, खानेपानीको धारा र ट्याँकी र बगैचा लगायतका पूर्वाधार निर्माण गरिएको निर्माण समितिका सदस्य घनश्याम काउँचाले बताउनुभयो । रासस