बेलारुसका राष्ट्रपतिद्वारा सपथ ग्रहण, युरोपेली मुलुकद्वारा मान्यता दिन अस्वीकार

बेलारुसका राष्ट्रपतिद्वारा सपथ ग्रहण, युरोपेली मुलुकद्वारा मान्यता दिन अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किभ, ८ असोज –– बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको सपथ ग्रहण गर्नु भएको छ ।

विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच सपथ लिनु भएको थियो ।

एक जना विपक्षी नेताले राष्ट्रपतिको सपथ ग्रहण समारोह “गोप्य” रुपमा गरिएको र त्यो नौटंकी मात्र रहेको बताउनुभयो । धेरै युरोपेली मुलुकहरुले राष्ट्रपतिको चुनावी नतिजालाई अस्वीकार गर्ने र लुकाशेन्कोलाई वैधानिक राष्ट्रप्रमुखका रुपमा मान्यता नदिने पुनः दोहोर्याएका छन् ।

राष्ट्रपतिको सपथ भइरहँदा राजधानी मिन्स्कमा हजारौं व्यक्ति प्रदर्शनमा उत्रिएका थिए भने सडकमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

मिन्स्कस्थित राष्ट्रपति कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा ठूलो संख्यामा समाजका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भएको राज्य संचालित समाचार समिति बेल्टाले जनाएको छ ।

६६ वर्षीय लुकाशेन्कोले दाहिने हातमा संविधान राखेर बेलारुसी भाषामा सपथ लिनु भएको थियो । त्यस अवसरमा केन्द्रीय निर्वाचन आयोगका प्रमुखले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लुकाशेन्कोलाई हस्तान्तरण गर्नु भएको थियो ।

त्यस अवसरमा सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्कोले निर्वाचनमा मुलुकको राष्ट्रपतिमा विजयी हुनु ठूलो कुरा होइन भन्दै आफूले राष्ट्रको मूल्यमान्यता, हाम्रो शान्तिपूर्ण जीवन, सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पूर्व सोभियत युननिबाट अलग भएयता २६ वर्षदेखि लुकाशेन्को बेलारुसको राष्ट्रपतिमा हुनुहुन्छ । गत अगष्ट ९ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत मत प्राप्त गर्नु भएको थियो । उहाँकी कट्टर विरोधी स्भितलाना चिखानोस्कायाले १० प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।

विपक्षी नेत्री स्भितलाना हाल छिमेकी मुलुक लिथुआनियामा निर्वासनमा हुनुहन्छ । उहाँले निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणाम अस्वीकार गर्ने बताउनुभएको छ ।

उहाँका दशौं हजार समर्थकहरुले छ हप्तादेखि लुकाशेन्कोको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।उहाँले भन्नुभएको छ, “जनताले लुकाशेन्कोलाई जनादेश दिएका छैनन् । सपथ ग्रहण कार्यक्रम नौटंकी मात्र हो र यो आफूलाई वैधानिक दाबी गर्ने चालबाजी मात्र हो ।”लिथुआनियाको राजधानी भिल्न्सबाट भिडियो सम्बोधन गर्दै विपक्षी नेत्री स्भितलानाले आफूलाई बेलारुसका जनताले निर्वाचित गरेको दाबी गर्नुभयो । उहाँले सबै मिलेर नयाँ बेलारुस बनाउने समय आएको बताउनुभयो ।

युरोपेली युनियनले समेत लुकाशेन्कोलाई बेलारुसको राष्ट्रपतिका रुपमा मान्यता दिन अस्वीकार गरेको छ । (रासस–एपी)