झरना र तातोपानी कुण्डको डिपिआर तयार हुँदै

झरना र तातोपानी कुण्डको डिपिआर तयार हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्वर, ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाढीपहिरोले अस्तब्यस्त भएका सुन्दर झरना र तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ ।

पर्यटक अनुकूलका पूर्वाधारको अभावमा ओझेल परेका रुप्से, नारच्याङ र महभीर झरनाका साथै भुरुङ तातोपानी, पाउद्धार तातोपानी, दोवाको सेकार र रातोपानी कुण्डको डिपिआरको काम शुरु गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनले बताउनुभयो । “मुख्य झरना र कुण्डमा पूर्वाधारको आवश्यकता छ, डिपिआर तयार भएपछि स्रोतको खोजीमा लाग्छौ”, उहाँले भन्नुभयो । डिपिआर तयार गर्न लागिएका तीन वटा झरना र तीन वटा तातोपानी कुण्ड बेनी–जोमसोम सडकखण्ड आसपासमा पर्छन् ।

पर्यटकको चाप बढ्दै गइरहेको अवस्थामा आवश्यक पूर्वाधारको अभावमा नारच्याङ र महभीर झरना समेत ओझेलमा परेको थियो भने बाढीपहिरोले अस्तब्यस्त भएको रुप्से झरनाको करिब ९० प्रतिशत संरचनामा क्षति पुगेको अध्यक्ष पुनले बताउनुभयो । विश्वकै उत्कृष्ट झरना र कुण्ड समेत बाढीपहिरो र नदीको कटानले छियाछिया भएको अवस्थामा पर्यटन क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई समेत सहयोग गर्न आह्वान गरिएको अध्यक्ष पुनको भनाइ छ । उहाँका अनुसार पाउद्धारको कुण्डमा रु २० लाख, रातोपानी कुण्डको संरक्षणमा यस अगाडि नै रु २५ लाख विनियोजन भइसकेको छ भने नारच्याङ झरनाको संरक्षण गर्ने प्रस्ताव पर्यटन मन्त्रालयमा पेश गरिएको छ ।

पुरानो स्वरुपलाई यथावत राखेर रुप्से र नारच्याङ झरनाका साथै कालिगण्डकीको कटानबाट तातोपानी र रातोपानीलाई जोगाउन सकेमा मुस्ताङ जाने पर्यटकलाई रोक्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।यसैबीच गाउँपालिकाले नदीजन्य वस्तुको उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदनको तयारीमा छ । डिपिआर र ईआइएका लागि रु १० लाख वजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

वर्षाका काण सडक अवरुद्ध ः यात्रुहरु अलपत्र

मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो र बाढी जाँदा म्याग्दी सदरमुकाम बेनी जोड्ने सबै सडक अवरुद्ध भएका छन् ।

बुधबार बिहानैदेखि अवरुद्ध भएका राष्ट्रिय राजमार्ग र ग्रामीण सडकहरु बिहीबारसम्म पनि सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका छन् । तत्काल सडक सञ्चालन हुन सक्ने अवस्था नदेखिएपछि अधिकांश यात्रु पैदल हिडेरै आ–आफ्नो गन्तव्यतर्फ लागेका स्थानीयवासीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयको सवारी आवागमन सूचना केन्द्रका अनुसार उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खण्डअन्तर्गत जलेश्वर, बेगखोला, रुप्से झरना र पश्चिम म्याग्दी जाने बेनी–दरबाङको घुमाउने भीरमा पहिरो गएकाले सो सडक अवरुद्ध भएको छ । त्यस्तै बेनी–बागलुङको रत्नेचौर–रानीवन, बेनी–मालढुङ्गा–कुस्माको सहस्रधारा सडक खण्ड पनि अवरुद्ध भएको छ । “भारी वर्षाका कारण सडक मर्मत कार्यको सम्भावना अत्यन्त न्यून देखिएको छ, अवरुद्ध भएका स्थानहरुको थप सूचना प्राप्त गर्दछौं”, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भन्नुभयो ।

मौसममा सुधार आएसँगै सडक मर्मत गरेर सञ्चालनमा ल्याउने बताइएको छ । रासस