घुन्सामा जीवन गुमाउने संरक्षणविद्को सम्झनामा वृक्षरोपण

घुन्सामा जीवन गुमाउने संरक्षणविद्को सम्झनामा वृक्षरोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । राष्ट्रिय शहीद तथा शान्ति स्मारक निर्माणस्थल गोकर्णमा बनाउन लागिएको घुन्सा स्मृति स्मारकमा विभिन्न जातका वृक्षरोपण गरिएको छ ।

पूर्व वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई लगायत वन एवं वातावरण संरक्षण क्षेत्रका दुई दर्जन संरणविद्को २०६४ साल असोज ७ गते ताप्लेजुङ जिल्लाको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । उहाँहरुले जीवन गुमाएको १४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा रुद्राक्षका ५०, अमलाका १०, तेजपात २०, जामुन, नास्पाती लगायत गरी १०० वृक्षरोपण गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका, शहीद स्मारक, गोपाल–मीना राई प्रतिष्ठानले आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमा दुर्घटनामा परी जीवन गुमाउनुभएका संरक्षणविद्को योगदानको कदर गर्दै उहाँहरुकै सम्झनामा वृक्षरोपण गरिएको हो । मन्त्री राई लगायत संरक्षणविद् सामुदायिक वनको कार्यक्रमका लागि घुन्सा जानुभएको थियो । मौसमको खराबीका कारण हेलिकप्टर दुर्घटनामा परेको थियो ।

कार्यक्रममा नगरउपप्रमुख शान्ति नेपालले घुन्सा स्मृति स्मारकमा वन र वातावरणसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धानस्थल निर्माण गर्न सकिने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, स्मारक व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, प्रतिष्ठानका अध्यक्ष लेखबहादुर राई लगायतले यज्ञडोल (जगडोल) सामुदायिक वनमा वन एवं वातावरण क्षेत्रका संरक्षणविद्को स्मृतिमा बनाउन लागिएको स्मारकलाई अनुसन्धान केन्द्रका रुपमा स्थापित गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

जनआन्दोलनका शहीदको नाममा बन्ने स्मारक गोकर्णको सामुदायिक वनमा बनाउन मन्त्रिपरिषद्बाट निर्णय गराउन महत्वपूर्ण योगदान गर्नुभएका मन्त्री राईको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उहाँ लगायतका व्यक्तित्वको योगदानको कदर गर्दै स्मारक बनाउने निर्णय सरकारले नै गरेको हो । सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद, निजामती एवं घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ । सरकारले २०६४ जेठ ११ गते प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि योगदान गर्ने शहीदको स्मृतिमा गोकर्णमा शहीद स्मारक बनाउने निर्णय गरेको थियो । रासस