नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा रहेकालाई हाइजिन किट वितरण

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा रहेकालाई हाइजिन किट वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा रहेकालाई हाइजिन किट वितरण गर्न शुरुआत गरेको छ । स्वास्थ्य र सरसफाइका लागि आवश्यक सामग्री रहेको सो किट जिल्लाका चारवटै नगरपालिकाका सङ्क्रमितलाई वितरण गर्न थालेको हो । होम आइसोलेसनमा बसेकाको परिवार नै कोरोना सङ्क्रमित हुन थालेपछि किट वितरण शुरु गरेको शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

सङ्क्रमितले प्रयोग गर्नका लागि स्यानिटाइजर, मास्क, टुटपेष्ट एवं ब्रस, साबुन, काइयो, तौलिया रुमाल, प्याडलगायतका अन्य सामग्री रहेको झोला वितरण शुरु गरेको हो । सङ्क्रमितको घर दैलोमै पु¥याइदिने गरी २०० किट वितरण शुरु गरेको हो ।

उहाँले भन्नुभयो, “होम आइसोलेसनमा बसेकाहरु बाहिर आएर सामग्री किन्न सक्ने अवस्थामा हँुदैनन्, फेरि परिवार नै सङ्क्रमणको जोखिममा रहेको हुन्छ, यस्तो अवस्थामा एउटा सानो परिवारलाई पुग्ने गरी स्वास्थ्य एवं सरसफाइका सामग्री रहेको हाइजिन किटको झोला घरघरमा लगेर ढोकामा राखेर खबर गर्ने गरेका छौँ, तत्काल २०० सङ्क्रमितका परिवारलाई हाइजिन किट वितरण गर्छौँ ।”

शाखाले जिल्लाका चारवटै नगरपालिकाका विभिन्न ठाउँमा बाल तथा अपाङ्गमैत्री सेन्सरयुक्त हात धुने स्टेशन राख्न शुरु गरेको छ । यसअघि पहिलो चरणमा चारवटै नगरपालिकाका सार्वजनिकस्थलमा राखेको हातधुने स्टेशन बालमैत्री र अपाङ्गमैत्री नभएपछि रेडक्रसले दोस्रो चरणमा भने सबैले प्रयोग गर्न मिल्ने गरी चारैतिर बसेर हात धुन सकिने गरी स्टेशन राख्न शुरु गरेको छ । चारैतिर सेन्सरयुक्त धारा जडान गरिएको एक हजार लिटर पानीट्याङ्की, साबुन, खुट्टाले थिचेर आउने गरी हात धुने स्याम्पोलगायतका सामग्री स्टेशनमा रहनेछन् ।

अहिलेसम्म विदेशबाट फर्किएकालाई राख्न भक्तपुरका दुईवटा होल्डिङ सेन्टर, सशस्त्रको आइसोलेसन, नेपाली सेना वीर दल गण सूर्यविनायकको आइसोलेसन, मध्यपुरथिमि नगरपालिकाको गेट, सानोठिमी, मध्यपुरथिमिको शङ्खधर चोक, आदर्श स्कूल थिमि, भक्तपुरको जनस्वास्थ्य, पद्य माध्यामिक विद्यालय, दूधपाटी, केही वडा कार्यालय र सार्वजनिकस्थलहरुमा हात धुने स्टेशन राखिएको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिको भवन, चाँगुनारायण मन्दिर, खरिपाटी, चाँगुनारायण मावि अगाडि, सरस्वतीखेल मन्दिर परिसर, वागेश्वरीको थाकलमोठ सरस्वतीथान, नगरकोटको भट्टेडाँडामा हात धुने स्टेशन राखिएको छ ।सूर्यविनायक नगरपालिका वडा नं १ को स्वास्थ्य केन्द्र, वडा नं २ र ५ को वडा कार्यालय, सूर्यविनायक चोक, मिलन चोकमा पनि हात धुने स्टेशन राखिएको छ । सूर्यविनायक नगरक्षेत्रमा १०, चाँगुनारायण नगरक्षेत्रमा नौ, मध्यपुर नगरक्षेत्रमा थप चार र भक्तपुर नगरक्षेत्रमा थप दुई गरी २५ ठाउँमा सबैले प्रयोग गर्न मिल्ने गरी बाल र अपाङ्गमैत्री हात धुने स्टेशन राख्ने तयारी गरिएको जनाइएको छ ।

कोरोना सङ्क्रमण रोकथाममा लागि शुरुदेखि नै अभियान सञ्चालन गर्दै आएको रेडक्रसले यसअघि पनि नेपाली सेनाको वीरदल गणलाई २० थान शव व्यवस्थापन झोला हस्तान्तरण गरेको थियो । कोरोना सङ्क्रमित भएर मृत्यु हुनेको शव व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै सेनाका लागि आवश्यक शव व्यवस्थापन झोला वीर दल गणका प्रमुख सेनानी शिवप्रसाद पौडेललाई प्रदान गरेको थियो ।

रेडक्रसले यहाँका चारैवटा नगरपालिकालाई क्वारेन्टिन व्यवस्थापनका लागि त्रिपाल, कम्बल, बाल्टिन र मग ५०–५० सेटसमेत वितरण गरेको थियो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनअन्तर्गत नगरका गरिब तथा विपन्न ज्यालादारी मजदुर परिवारलाई खाद्यान्न सहयोग गर्न रेडक्रसले प्रत्येक नपालाई रु एक–एक लाखसमेत सहयोग गरेको थियो ।

होल्डिङ सेन्टर, क्वारेन्टिन र आइसोलेसनमा पनि एक लिटरको खानेपानीको करिब १० हजार बोतल वितरण गरिसकेको भने मास्क, स्यानिटाइजर वितरण, सवारी साधन एवं विभिन्न ठाउँमा भाइरस निर्मलीकरणको कार्य गर्दै आएको छ ।

त्यस्तै कोरोना सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापी गर्न कोरोना भाइरस सङ्क्रमण निको भएकाको रगत सङ्कलन अभियानसमेत रेडक्रसले शुरु गरेको छ । कोरोना सङ्क्रमण निको भएकाको रगतको प्लाज्माले सङ्क्रमित गम्भीर बिरामीका लागि जीवनदान बन्न सक्ने भएपछि रेडक्रसले सङ्क्रमण भएर निको भएकाहरुको रगत सङ्कलन अभियान शुरु गरेको रेडक्रसले जनाएको छ । कोभिड–१९ महामारीमा रगतको अभाव हुन नदिन जिल्ला शाखाले उपत्यकाव्यापी रक्तदान अभियानसमेत सञ्चालन गर्दै आएको छ ।