राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान

राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । वाग्मती सफाइ महाअभियानले ३८५ हप्ता पार गरेको छ । विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरेर जारी राखिएको हो ।

नदी किनारको नजिकै निवास भएका सफाइ अभियानकर्मीले काठमाडौँ उपत्यकामा कोरोना बढ्दै गएको अवस्थामा पनि महाअभियानलाई जारी राखेका छन् । वाग्मतीको आजको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भयो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं। ११ का अध्यक्ष हीरालाल तण्डुकार, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ लगायत अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा भौतिक दूरी कायम गरेर सफाइ गरिएको छ । सफाइमा जम्मा भएको कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको जनाइएको छ ।

रातोपुलबाट कालोपुलको रुद्रमती किनारमा २२५ गुर्जो रोपण

रुद्रमती सफाइ अभियानको ३४०औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारका दायाँबायाँ २२५ वटा गुर्जोका विरुवा रोपिएको छ । गुर्जो वितरण अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले अभियानलाई गुर्जोका विरुवा हस्तान्तरण गर्नुृभएको हो । गुर्जोका विरुवा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले ती विरुवा रोप्नका लागि बाँड्नुभएको थियो ।

सो अवसरमा पूर्वमन्त्री थापाले यस्तो अभियानमा सबै सामाजिक संस्था सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । गुर्जो वितरण अभियानकर्मी राजलवटले यस क्षेत्रका एक घरलाई एक गुर्जोको बिरुवा निःशुल्क वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जोको धुलो महानगरपालिकाका वडा नं ७, ९ र ३० मा कोरोना पोजेटिभ आउने सबैलाई निःशुल्क सेवनका लागि उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँको थियो । कार्यक्रममा सुरक्षाकर्मीसहित १५० जना अभियानकर्मी सफाइ र गुर्जो रोपणमा सहभागी भएको अभियानकर्मी गिरीले राससलाई जानकारी दिनुभयो ।

लोकतान्त्रिक चोकमा ५०० परिवारलाई गुर्जो वितरण

विष्णुमती सफाइ अभियानको ३१४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा त्यस वरपरका पाँच टोलका मानिसलाई ५०० वटा गुर्जोको बिरुवा घर घरमा रोप्न हस्तान्तरण गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । विष्णुमती किनारका बस्तीमा रोप्न पनि गुर्जो वितरण अभियानकर्मी राजलवटले नै बिरुवा हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, अभियानकर्मी राजलवट र पाण्डे, वडा नं। १० का अध्यक्ष अमृत थापा, पातञ्जल योग समिति वाग्मती प्रदेशका अध्यक्ष सुवर्णलाल चित्रकार, काठमाडौँ जिल्ला अध्यक्ष ऋषि लोहनीलगायतले गुर्जोको उपयोगिताका विषयमा प्रकाश पार्नुभएको थियो ।

आलोकनगर सफाइको १८४औँ हप्तामा केही बेर सफाइ गरी गुर्जोको बेर्ना बाँड्नुका साथै बगैँचाका रुख बिरुवा गोडमेल गरिएको अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिनुभयो । उत्तरी खण्डको चक्रपथ सफाइको १८४औँ हप्तामा त्यस क्षेत्रमा पहिलेभन्दा धेरै फोहर भेटिएको अभियानले जनाएको छ । कोरोनाको महामारी फैलिए पनि मानिसमा सफाइप्रतिको सचेतना नबढेको पाइएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । फोहरले कोरोनालगायत अन्य रोगव्याधि पनि बढ्ने भएकाले सचेत हुन उहाँले आह्वान गर्नुभएको छ । रासस