जनता आवास कार्यक्रममार्फत तनहुँमा १९९ घर निर्माण गरिएको छ । गरिब तथा आर्थिकरुपमा विपन्न परिवार छनोट गरी जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा घर निर्माण गरिएको हो ।
निर्माण गरिएका घरमध्ये एक जना लाभग्राहीले मात्रै चार किस्ता गरी रु तीन लाख ३२ हजार ५०० भुक्तानी पाएका छन् । त्यस्तै ४८ लाभग्राहीले तेस्रो किस्ताबापतको रु दुई लाख ९९ हजार २५० भुक्तानी पाएका छन् । शहरी विकास तथा भवन कार्यालय गोरखामार्फत तनहुँको शुक्लागण्डकी नगरपालिकामा ३०, भीमाद नगरपालिकामा २८, व्यास नगरपालिकामा ३७, भानु नगरपालिकामा २४, म्याग्दे गाउँपालिकामा २२, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १३, देवघाट गाउँपालिकामा १७ र ऋषिङ गाउँपालिकामा १५ घर निर्माण गरिएको जनता आवास कार्यक्रम तनहँुका प्राविधिक शङ्कर गैह्रेले जानकारी दिनुभयो ।
बाँकी लाभग्राहीले भने पहिलो र दोस्रो किस्ताबापतको रकम मात्रै पाएका छन् । तनहुँ जिल्लामा नै पूर्वाधार विकास कार्यालय स्थापना भएको र सोही कार्यालयमा जनता आवासको बजेट आउने भएकाले त्यसपछि मात्रै अन्य लाभग्राहीलाई भुक्तानी दिन सकिने उहाँले बताउनुभयो । “जनता आवास कार्यक्रमका लागि रु एक करोड ३९ लाख बजेट आउने तयारी छ, उक्त बजेट आएपछि बाँकी लाभग्राहीलाई भुक्तानी दिन्छौँ”, उहाँले भन्नुभयो ।
विसं २०६७ देखि सञ्चालनमा रहेको जनता आवास कार्यक्रम सङ्घीय सरकारले प्रदेश सरकार मातहत सञ्चालन गर्दै आइरहेको छ । घर निर्माणको सम्पूर्ण काम शहरी विकास तथा भवन कार्यालय गोरखामार्फत हुँदै आइरहेको छ । उक्त कार्यालयले तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरमा जनता आवास कार्यक्रममार्फत घर निर्माणको काम गरिरहेको छ ।
महिलालाई उद्यमशील बनाउँदै सहकारी
भीमाद नगरपालिका–९ भानुमतीस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीले महिलालाई उद्यमशील बन्न प्रेरित गरेको छ । घरको चुलाचौकामा सीमित रहने यहाँका महिला अहिले उद्यमशील बनेका छन् ।नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना सञ्चालन गरेपछि यहाँका महिला उद्यमशील बन्न थालेका हुन् । महिला सहकारीमार्फत सञ्चालित परियोजनापछि यहाँका महिला बाख्रापालनतर्फ आकर्षित हुँदै गएको सहकारीका अध्यक्ष देवी मोक्तानले जानकारी दिनुभयो ।
“सहकारी संस्थाले उद्यमी बन्न प्रेरित गरेसँगै यहाँका महिलाहरु उद्यमी बन्न थाल्नुभएको छ”, उहाँले भन्नुभयो, “घरको चुलोचौकामा व्यस्त रहने महिला घरको कामसँगै बाख्रापालनमा हुनुहुन्छ ।” उक्त सहकारीमा ३७२ महिला आबद्ध छन् । सहकारीमा आबद्ध महिलाले कम्तीमा तीनदेखि ४६ वटासम्म माउ बाख्रापालन गरेका छन् । सहकारीमा आबद्ध महिलाको जीवनस्तर उकास्न हलेदो, बेमौसमी तथा मौसमी तरकारी खेतीका लागि पनि सहयोग गरिएको सहकारीका सचिव सुमाया थापाले जानकारी दिनुभयो ।
महिलाले पालेका खसीबोका बिक्रीका लागि सहकारीले नै बजारीकरणको व्यवस्था गर्दै आएको छ । बन्दाबन्दीका समयमा पनि सहकारीमार्फत रु २५ लाख बराबरको खसीबोका बिक्री भएको थियो । उक्त अवधिमा ११६ खसीबोका बिक्री भएको सहकारीले जनाएको छ ।
कोरोना कहरका कारण भएको बन्दाबन्दीका क्रममा पनि सहकारीले सहज रुपमा खसीबोका बिक्रीका लागि बजारीकरणको व्यवस्था मिलाएको सहकारीका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । “कृषकले पालेका खसीबोका बन्दाबन्दीका क्रममा बिक्री हुन्नन् कि भन्ने चिन्ता थियो, विगतका वर्षदेखि नै सहकारीले खसीबोका बिक्री गर्ने गरेकाले यस अवधिमा पनि सहज रुपमा खसीबोका बिक्री गर्न सफल भयौँ”, मोक्तानले भन्नुभयो ।
उहाँका अनुसार बन्दाबन्दीका अवधिमा ४६ खसी बिक्रीमार्फत रु सात लाख नौ हजार ८०१ र ७० व्याड बोका बिक्रीमार्फत रु १७ लाख ९१ हजार ७५० आम्दानी भएको छ । बन्दाबन्दीका क्रममा पनि सहकारीमा आबद्ध कृषक आफूले पालेका खसीबोकाको बजारीकरण भएपछि खुशी भएका छन् । सहकारीका सदस्य एवं बाख्रापालक कृषक लुमाया थापाले छ खसी बिक्री गर्दा रु एक लाख ५३ हजार आम्दानी भएको जानकारी दिनुभयो । “विषम परिस्थितिमा पनि खसी बिक्रीबाट भएको आम्दानीले गुर्जो ट¥र्यो”, उहाँले भन्नुभयो ।
सहकारीले सोही अवधिमा रु चार लाख ४१ हजार २०० को चोकर बिक्री गरेको छ । सहकारीले रु चार लाख ३० हजार ४०० मा चोकर खरीद गरेको थियो । बन्दाबन्दी अवधिमा सहकारीले रु छ लाख ६४ हजार बचत सङ्कलन गर्न सफल भएको छ भने रु सात लाख ३० हजार ७०० ऋण लगानी गरेको छ । यसै अवधिमा रु पाँच लाख चार हजार किस्ता असूली भएको छ । रासस
प्रतिक्रिया