घर र मठ मन्दिरमा क्षमा पूजा गरी मनाइयो इन्द्रजात्रा, हनुमानढोका सुनसान

घर र मठ मन्दिरमा क्षमा पूजा गरी मनाइयो इन्द्रजात्रा, हनुमानढोका सुनसान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा हेर्न यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तित्व हनुमानढोका दरबारको गद्दी बैठकमा जानुभएन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले गर्नुभएको सङ्कल्पको पूजा सामग्री ल्याई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको क्षमा पूजा गरिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । कोरोनाका कारण जात्रा स्थगित नगरिएको भए राष्ट्राध्यक्षले हनुमानढोकामै आएर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको पूजा गरी रथयात्रा हेर्नुहुने प्रचलन थियो ।

राजधानीका हजारौँ मानिस हनुमानढोका दरबार क्षेत्रमा उपस्थित भएर मनाइने इन्द्रजात्रा पर्व यस वर्ष घर घरमै वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको पूजा आराधना गरी मनाइएको छ । भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौँथीका दिनसम्म हनुमानढोका क्षेत्रका टोल टोलमा घुमाइने रथयात्रामा घर घरबाट पूजा सामग्री ल्याई चोक चोकमा पूजा आराधना गरिन्थ्यो । श्रीगणेश, श्रीकुमारी र श्रीभैरवको रथ घुमाइने यात्रा यस वर्ष स्थगित गरेपछि इन्द्रसहित तीनै देवताको पूजा आराधना घर घरमै गरिएको काठमाडौँ महानगरपालिका वडा नं. १९ स्थानीयवासी सुमन खड्गीले बताउनुभयो । स्थानीयवासीले घर घरमा र इन्द्रजात्रासँग सम्बन्धित मठ मन्दिरका पूजारीले देवस्थलमा क्षमा पूजा गरी यो पर्व मनाएका हुन् ।

कोरोना महामारीका कारण रथयात्रा स्थगित गरेपछि क्षमापूजा गरेर मुख्य दिनको पर्व मनाइएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजा गरी मनाइएको संस्थानले जनाएको छ । विसं १८२३ मा इन्द्रजात्राकै अवसर पारेर गोरखाका राजाले काठमाडौँमा आक्रमण गरेको ऐतिहासिक तथ्य छ । त्यस वर्ष समेत इन्द्रजात्राको रथयात्रा रोकिएको थिएन ।

भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारी लगायत मन्दिरमा क्षमा पूजा गरिएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । समितिले भदौ ४ गते बिहीबार इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजे को दिएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ ।

इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताउनुभयो । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको दर्शन गर्ने परम्परा पनि यस वर्ष नहुने भएको छ । भदौ २१ गते कुमारी घरबाट राष्ट्रपति कार्यालयमा फूल प्रसाद लगिने कार्यक्रम रहेको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । रासस