चीनका राष्ट्रपति सी चिनफिङद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना

चीनका राष्ट्रपति सी चिनफिङद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनका राष्ट्रपति सी चिनफिङले उहाँका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उहाँकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड राष्ट्रिय सैनिक चिकित्सा केन्द्रमा भर्ना हुनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको सन्देशमा चिनियाँ राष्ट्रपति सीले भन्नुभएको छ, “अमेरिकी राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानियालाई सङ्क्रमण भएको खबरले हामीलाई दुख लागेको छ । उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।” समाजिक सञ्जालमार्फत् पठाइएको सन्देशमा चिनियाँ राष्ट्रपति सी र उहाँकी पत्नी पेङ लियुआनले सहानुभूति प्रकट गर्दै ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गनुभएको हो ।

शनिबारै उहाँको स्वास्थ्य लाभको कामना गर्दै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार तथा ट्रम्पका प्रतिस्पर्धी जो बाइडेन, पूर्व राष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन, उत्तर कोरियाली नेता किम जोङ अनलगायत दर्जनौँ विश्व नेताहरूले सामाजिक सञ्जालमा सन्देश लेख्नुभएको छ ।

ट्रम्पले केही दिन अस्पतालमा भर्ना भई उपचार गराउनुहुने बताइएको छ । यसैबीच ट्रम्पलाई गिलिड साइन्सेस नामक विश्व प्रसिद्ध औषधि कम्पनीले उत्पादन गरेको ‘रेमडेसिभिर’ चलाइएको ह्वाइट हाउसका चिकित्सक सिन कोन्लीले बताउनुभएको छ । उहाँको उपचारका लागि सैनिक अस्पतालका साथै जोन हकिन्स विश्वविद्यालयबाट आएका विशेषज्ञ टोली खटाइने बताइएको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अक्सिजन दिनु नपरेको चिकित्सक कोन्लीले बताउनुभयो । रासस