गलकोट, २१ असोज । लामो समयको वैदेशिक रोजागारीपछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका दुई दाजुभाइले तरकारी खेती शुरु गर्नुभएको छ । बागलुङ नगरपालिका–४ गौरीधामका दुई दाजुभाइ पछिल्लो दुई वर्षदेखि व्यावसायिक तरकारी खेतीमा अग्रसर हुनुभएको छ ।
दाजुभाइ भविलाल विक र टेकबहादुर विकले भाडामा लिएको १४ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरी रहनुभएको छ । उहाँहरुले ११ वटा टनेलमा टमाटर लगाउनुभएको छ । उहाँहरुको तरकारी बारीमा अहिले टमाटरसँगै घिरौला र सिमीसमेत फलिरहेको छ । पाँच वर्ष साउदी र १४ वर्ष मलेसियाको बसाई सकेर नेपाल फर्कनुभएका टेकबहादुर र मलेसियामा ११ वर्ष रोजगारी गर्नुभएका भविलालले वार्षिक रु एक लाख भाडा तिर्ने गरी लिएको जग्गामा व्यावसायिक तरकारीखेती सँगै कुखुरा र हाँससमेत पाल्नुभएको छ ।
“विदेशमा लामो समय बिताइयो, लगानीका लागि रकम जुटायौँ, बस्ने बाँस बनायौँ”, टेकबहादुरले भन्नुभयो, “भाई भविलालले चार वर्षदेखि खेती गर्दै आएको थियो, त्यही देखेर मैले पनि सिके अहिले मिलेर सामूहिकरुपमा काम गर्दै आएका छौँ ।” बोइलर कुखुरा, टर्नेलमा टमाटर, लोकल कुखुरा, हाँससहित अन्य तरकारी बेचेर उहाँहरुले मासिक रु एक लाख आम्दानी गर्दै आएको बताउनुभयो ।
हालसम्म टनेलदेखि थोपा सिँचाइ प्रविधि जडान गर्न र कुखुराको खोर व्यवस्थापन गर्न रु १० लाख लगानी गर्नुभएका दुई भाइले हालै ‘युके कृषि तथा पशुपालन फार्म’ दर्ता गर्नुभएको छ । थोपा सिँचाइ र मल्चिङ अपनाउँदै आएका दाजुभाइ शुरुआती चरणमा नै व्यावसायिक तरकारीखेती सफल हुँदै गएपछि उत्साहित हुनुभएको छ ।
टमाटर एक वर्षमा दुईपटक र अन्य तरकारी खेती मौसमअनुसार लगाउँदै आएका उहाँहरुले काउली, ब्रोकाउली जस्ता बेमौसमी तरकारी खेतीसमेत गर्दै आउनुभएको छ । उहाँहरुले आफ्नो पुख्यौली गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा वार्षिक रु पाँच लाख बराबरको आलु उत्पादन गर्दै आउनुभएको छ । आलुखेतीका लागि पकेट क्षेत्र रहेको धम्जा पुगेर दाजुभाइले मौसमअनुसारको आलुखेती गर्दै आएको छ । विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै देशको माटोमा पोख्न पाउँदा उहाँहरु खुशी देखिनुहुन्छ । वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा लागेका युवाका लागि सरकारले कृषि अनुदान कार्यक्रम ल्याउनुपर्ने उहाँहरुको भनाइ छ । रासस
प्रतिक्रिया