गण्डकी, २३ असोज । हिमाल पारिको जिल्ला मुस्ताङको स्याउ भन्नेबित्तिकै जो कोहीको मुख रसाउँछ । बजारमा पाइने स्याउमध्ये अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ ।
कोरोनाको महामारीसँगै पर्यटन क्षेत्र शिथिल बनेका अवस्थामा यतिखेर मुस्ताङका पर्यटन व्यवसायी वैकल्पिकरुपमा स्याउको बजारीकरणका लागि सक्रिय बनेका छन् । कोरोनाको कहरबाट पाठ सिक्दै कतिपय पर्यटन व्यवसायी यतिखेर कृषि पर्यटनलाई अघि बढाइरहेका छन् । अत्यधिक चिसो समयका अलाबा अधिकांश समय मुस्ताङमा पर्यटकलाई स्वागत गरिरहेका होटेल ग्रान्ड साम्बाला, मुक्तिनाथका सञ्चालक सुरज गुरुङ यतिखेर कृषि पर्यटनमा सक्रिय हुनुहुन्छ । सम्बाला एग्रो फार्म शुरु गर्नुभएका गुरुङलाई अहिले भने मुस्ताङको स्याउ काठमाडौँ पठाउन भ्याइनभ्याइ छ । स्याउको नर्सरीसमेत थाल्नुभएका गुरुङले मुस्ताङको मुक्तिक्षेत्रका कागबेनी, खिङ गाउँलगायतका स्थानबाट दैनिक स्याउ सङ्कलन गरी काठमाडौँ निर्यात गरिरहेको बताउनुभयो ।
“फार्ममा बोटमा स्याउ पाकिरहेका छन्, विगत एक सातायता दैनिक लगभग एक ट्रकका दरले पठाउन थालेको छु”, उहाँले भन्नुभयो, “बजारमा मुस्ताङी स्याउको माग अत्याधिक छ, पु¥याउनै धौ धौ छ ।” बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमा नै थोक मूल्य लगभग प्रतिकिलो रु १२०÷१२५ पर्ने गरेको उहाँले जानकारी दिनुभयो । दशैँ तिहारको समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । पोखराका बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्ने गरी पसलमा यहाँ मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गर्दछन् ।
उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती भएको ठिनीका स्याउ व्यवसायी पल डिसी थकालीले बताउनुभयो । उहाँका अनुसार स्याउबाट सो क्षेत्रका धेरै स्थानीयवासीले राम्रो आयआर्जन गरेका छन् । जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र शुरु भएकोे हो । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको थियो । मुस्ताङका स्थानीयवासीका अनुसार सरकारले शुरुमा प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडेको थियो । त्यसयता स्याउको खेतीमा उत्साहित बनेका यहाँका व्यवसायीले विसं २०३५÷३६ देखि स्याउबाट रक्सीसमेत बनाउन थालेका थिए । पछिल्ला समयमा मुस्ताङमा स्याउको रक्सी बनाउने उद्योग पनि बर्सेनि बढ्दै गएका छन् । मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउनका लागि बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । हिमाली दृश्यको अवलोकनका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ ।
सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको परियोजनाका मुस्ताङ प्रमुख सुधीर थापाले बताउनुभयो । उहाँका अनुसार मुस्ताङमा स्याउखेती एक हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल ५०० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थालिसकेको बताउँदै उहाँले जलवायु परिवर्तनलगायतका कारणबाट जिल्लाको तल्लो भेगमा उत्पादनमा कमी आउन थालेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, ठिनीलगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ । मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन् । कृषिको तथ्याङ्कअनुसार अघिल्लो वर्ष मुस्ताङमा छ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । (रासस
प्रतिक्रिया