कञ्चनरुपमा १२ नयाँ क्षयरोगी देखियो

कञ्चनरुपमा १२ नयाँ क्षयरोगी देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरीको कञ्चनरुप नगरपालिकामा १२ जना नयाँ क्षयरोगका बिरामी देखापरेका छन् । स्वास्थ्य शाखा कञ्चनरुपले आज आयोजना गरेको तेस्रो चौमासिक क्षयरोग सम्बन्धी गोष्ठिमा उक्त जानकारी दिइएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा सम्पन्न सो छलफलमा नयाँ क्षयरोगका बिरामी देखिएका ती मध्ये ९ जनाको फोक्सोमा कीटाणु देखिएको र ३ जनाको फोक्सो बाहेकका अंगमा कीटाणु देखिएको जानकारी दिइएको थियो ।

चार महिना पहिले दर्ता भएका ८ जना फोक्सोको क्षयरोगका बिरामीमध्ये ७ जनाको खकार नेगेटिभ आएको र १ जनाको मृत्यु भएको थियो । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा दर्ता भएका १९ जना बिरामीमध्ये १७ जना निको भएको र २ जनाको मृत्यु भएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सुभाषचन्द्र झाले क्षयरोगको लक्षण र बिरामीको अवस्थाबारे जानकारी गराउनु भयो । नियमित रुपमा औषधी सेवन गरेमा बिरामी निको हुने बताउनु भएका उहाँले औषधी सेवन नगर्दा मृत्यु सम्म हुने चेतावनी दिनुभयो ।

स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ताले क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकास हुने र तिनमा रोगका लक्षण देखा पर्ने बताउनु भयो । तीन साता या सोभन्दा बढी समय खोकी लागे, खकारमा रगत देखिए, श्वास फेर्न गाह्रो भए वा छाती भारी भए, अकस्मात शरीरको धेरै तौल घटे, पसिना आउने भएर थकाइको महसुस भए क्षयरोगको आशंका गर्नुपर्ने र तत्कालै नजिकको स्वास्थ्य शाखामा सम्पर्क गर्नुपर्ने उहाँले बताउनु भयो ।

चिकित्सकहरुका अनुसार क्षयरोगका कीटाणुबाट प्रभावित सबैलाई यो रोग लाग्दैन । क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमा पर्याप्त रोग प्रतिरोधात्मक क्षमता छ भने यो रोगले हानि पु¥याउन सक्दैन । तर कुपोषण र एचआईभी संक्रमित व्यक्तिमा भने यो रोग छिटो विकसित हुन्छ । कार्यक्रममा विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरुले आ–आफ्नो स्वास्थ्य चौकीमा भएको क्षयरोगका बिरामीहरुको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा पत्रकार उत्तम आचार्य र सुरेन्द्रप्रसाद यादवले नियमित औषधी सेवनले निको हुने यस्तो रोग लाग्नुभन्दा पहिल्यै रोगै लाग्नै नदिन सबै सचेत हुन जरुरी रहेको बताउनु भयो । स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले कार्यक्रमको उदेश्य बारेमा जानकारी गराउनु भयो ।

सामान्यतया टीबी भनिने यस रोगका कीटाणुको सङ्क्रमणका कारण आज पनि विश्वको एकतिहाइ जनसङ्ख्या जोखिममा रहेको देखिन्छ । सङ्क्रमितमध्ये ७५ प्रतिशतलाई फोक्सोमै सङ्क्रमण हुने गरेकोले ‘शरीरको क्षति गर्ने क्षयरोग’ लाई आम मान्छेले फोक्सोसँग सम्बन्धित रोग ठान्छन् । तर शरीरका अन्य अंगमा पनि यसको संक्रमण हुन्छ र यस्तोमा फोक्सोभन्दा शरीरका अन्य अंगको उपचार गर्न असहज हुन्छ ।

प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाख व्यक्तिको ज्यान क्षयरोगकै कारण जाने गरेको अनुमान छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार प्रत्येक वर्ष करिब पाँचदेखि सात हजार नेपालीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन् । नेपालमा क्षयरोग उपचारका लागि चार हजार बढी क्षयरोग उपचारसम्बन्धी ‘डट सेवा’ केन्द्र छन् ।

क्षयरोगबाट जोगिन स्वस्थ जीवन नै पहिलो सर्त हो । स्वस्थ जीवनको पहिलो आधार हो – अनुशासित जीवनशैली । खानपान तथा आहारविहारमा पर्याप्त ध्यान दिन सके ब्याक्टेरियाजन्य सबै रोगबाट धेरै हदसम्म जोगिन सकिने राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताउनु भयो । रासस