कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै वाणिज्य विभागका अधिकांश सेवा स्थगित

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै वाणिज्य विभागका अधिकांश सेवा स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ । विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी, कम्पनीका नयाँ दर्ता, ठाउँसारी, पूँजी वृद्धि, खारेजी, उद्देश्य परिवर्तनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि आजदेखि उक्त कार्य स्थगन भएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सेवाका लागि यही असोज २३ गतेसम्म निवेदन पेश भएका सम्पूर्ण कार्य स्वास्थ्य सुरक्षा अपनाउँदै फछ्र्योट गरिनेछ ।

यसैगरी विभागले मङ्सिर ७ गतेसम्म म्याद समाप्त हुने फर्मको नवीकरणबाहेकका कामका लागि अनलाइनबाट आवेदन गर्ने व्यवस्थासमेत स्थगन गरेको छ । विभागको व्यापार प्रशासन सम्बद्ध तथा बजार अनुगमन शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण भएसँगै अधिकांश सेवा स्थगन गरिएको हो । विभागका धेरै कर्मचारीको सरुवा भएको तथा नयाँ आउने कर्मचारी आइनपुग्दा सेवा प्रवाहमा समस्या भएको विभागका अधिकारी बताउँछन् । बजार अनुगमनका कर्मचारी पर्याप्त मात्रामा नहुँदा दैनिक चार समूहबाट अनुगमन गर्दै आएको जनाइएको छ । रासस