सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको आज मंगलबार ५०० रुपैयाले घट्दै प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन हिजो सोमबार प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको आज मंगलबार ५०० रुपैयाले घट्दै प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार चांदीको मूल्य प्रतितोलामा २० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ।

जारको पानीको पुरानै मूल्य कायम

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ ।

संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको हो ।

नेपाल वोटल वाटर उद्योग सङ्घले एकतर्फीरुपमा असोज १८ गतेदेखि जारको पानीको मूल्यवृद्धि गर्न परिपत्र गरेको थियो । उहाँका अनुसार विभागले सङ्घले गरेको परिपत्र भेटेपछि सङ्घका पदाधिकारीसँग संसदीय समितिको निर्देशनपछि थप अध्ययन गर्ने गरी सहमति गरिएको हो । “हामी निरन्तर बजार अनुगमनका नै हुन्छौँ, तत्काल पानीको बोतल तथा जारमा गरिएको मूल्यवृद्धि फिर्ता नभए कारवाही गर्नेछौँ”, उहाँले भन्नुभयो, “हामीले व्यवसायीलाई नै भनेका छौँ, यदि आजबाट पुरानै मूल्यमा प्रशोधित पानीको बिक्री वितरण नभए तत्काल पक्राउ गरेर कालोबजारी मुद्दा दर्ता गर्छौं ।”

बजारम उद्योगअनुसार पानीको मूल्य कायम भएको भन्दै मूल्यमा एकरुपता ल्याउन भन्दै भदौ १० गतेदेखि काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोकमा पानीको नयाँ मूल्य निर्धारणको तयारी गरिएको थियो । बजारमा कायम भएकोभन्दा बढी मूल्य निर्धारण भएको भन्दै उपभोक्ता अधिकारकर्मी तथा व्यवसायीले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थए । समितिमा उजुरी परेपछि पानीको नयाँ मूल्य लागूू गरिएको थिएन भने उजुरीमाथि थप कारवाहीसमेत भएको छैन ।

उपभोक्ता समितिका सभापति विमलप्रसाद श्रीवास्तव पानीको विषयमा समितिले अध्ययन गरीरहेको भन्दै नयाँ लागू भएको मूल्य तत्काल रोकी पुरानै मूल्य कायम गर्नुपर्ने बताउनुभयो । चार्डपर्वमा बजारमा हुने कालोबजारी तथा अनुचित क्रियाकलापको अनुगमन गर्न पाँच सदस्यीय उपसमिति गठन गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

विभागले बोतलको पानी र जारको पानीको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको थियो । विभागले निर्धारण गरेको नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको जारको अधिकतम खुद्रा मूल्य रु ५० र एक लिटर पानी भएको बोतलको मूल्य रु १६ कायम गरेको थियो । नयाँ निर्धारणअनुसार व्यवसायीले १८ गतेदेखि एक जार पानीको मूल्य रु ५० मा बिक्री गरेका थिए । १८ गतेअघिसम्म प्रतिजार रु २५ देखि ५० मा बिक्री गर्ने गरीएको थियो ।

खुलेन सुपथ मूल्य पसल

चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो । ठूला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे । “चिनी नआएकाले पसल खोल्न सकिएन”, कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले भन्नुभयो, “संस्थानमै चिनीको अभाव छ, स्टक भएका केही ठाउँमा पसल खुले पनि पर्याप्त छैन ।”

उहाँले भारतबाट चिनी खरिदको प्रक्रिया शुरु भएकाले जिल्लामा आउँदासाथ छोटो समयका लागि भए पनि सूपथ पसल सञ्चालन गरिने बताउनुभयो । “चिनी आउन अझै साता दिन बढी लाग्ने देखिन्छ, ढिलो गरी भए पनि उपभोक्तालाई सेवा दिन प्रयासरत छौँ”, उहाँले भन्नुभयो ।

चिनी उपलब्ध भएपछि भौतिक दूरी कायम गरी बिक्रीको प्रबन्ध मिलाइने प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो । कार्यालयले बर्सेनि चाडबाडलाई लक्षित गरी बजार भाउभन्दा सस्तोमा चिनी, नुन बिक्री गर्दै आइरहेको छ । चिनीको भण्डारण रित्तिए पनि नुनको भने अभाव छैन । पसल खोलेर नुनमात्र बेच्दा प्रभावकारी नहुने कार्यालयको ठहर छ । सुपथ मूल्य पसल सञ्चालनमा आउँदा दैनिक सयौँ उपभोक्ताको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मे पर्छ । ज्यालादारीमा अतिरिक्त कर्मचारी नै राखेर सेवा दिने गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । पसलमा करोडौँको कारोवार हुन्छ ।

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले चिनी ल्याउन थप पहल गर्नुपर्ने बताउनुभयो । “बजारमा चिनीको भाउ बढेको छ, यस्तो बेला सुपथ पसल खोल्न सके उपभोक्ताको हितमा हुन्थ्यो”, उहाँले भन्नुभयो, “हामीले पनि साल्ट ट्रेडिङ र जिल्ला प्रशासनलाई यो विषयमा ध्यानाकर्षण गराइरहेका छौँ ।”

काठमाडौँलगायत ठाउँमा खाद्य संस्थान र साल्ट ट्रेडिङले सुपथ पसल खोलेर उपभोक्तालाई सेवा दिइरहेको उहाँको भनाइ छ । दशैँअघि खुलेको पसल छठसम्म खुला हुने गर्छ । अध्यक्ष श्रेष्ठले चाडबाडका बेला हुने कालोबजारीलाई रोक्न बजार अनुगमन थालिएको बताउनुभयो । उहाँले उपभोक्ताको हित विपरीत कार्य गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

आलुको जोन क्षेत्रमै आलुको सङ्कट

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । यसरी उत्पादनका आधारमा विशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम ल्याउन कार्यक्रम लक्षित गाउँ र यहाँका किसान पनि उत्साहित थिए तर, बागलुङमा यसपटक आलुको जोनको रुपमा पहिचान गरिएका ठाउँमा नै उत्पादनमा भारी ह्रास आए पछि स्थानीय कृषक चिन्तित छन् । अहिले आलुको जोनमै आलुको सङ्कट भएको स्थानीय बताउँछन् ।

बागलुङको ताराखोला, ढोरपाटनलगायत क्षेत्र आलु उत्पादनका लागि निकै उर्बर मानिन्छ । जिल्लाको अधिकांश दुर्गम तथा उच्च पहाडी भेगमा आलु निकै स्वादिष्ट मानिने भएकाले बजार माग उच्च छ । बागलुङमा छवटा आलुका जोन क्षेत्र छन् । जसमध्ये ताराखोला र ढोरपाटनको आलु नेपालभर प्रख्यात छ तर, यस वर्ष आलु उत्पादनमा भारी गिरावट आएपछि आलु जोन क्षेत्रका रुपमा रहेको ढोरपाटन, ताराखोला, तमानखोला, बडिगाड र पाण्डवखानीमै आलुको सङ्कट भएको किसानले गुनासो गरेका छन् ।

यस वर्ष अत्यधिक वर्षात्का कारण आलु उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएका कारण आलु जोन क्षेत्रमै आलुको अभाव भएको ताराखोला–५ का किसान भक्तप्रसाद बुढाले जानकारी दिनुभयो । “आलु उत्पादन नहुँदै चार लाख पेश्की बुझेको थिए”, बुढाले भन्नुभयो, “आलु नफल्दा आधा रकम फिर्ता गरिदिए ।” बुढाका अनुसार अहिले त घरमा तरकारी खाने आलुसमेत छैन । ताराखोलाका किसानलाई आलु व्यापारीले आलु नफल्दै पेश्कीस्वरुप नगद अथवा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आए पनि यस वर्ष आलु उत्पादन नभएका कारण आलुको बीउ मात्रै जोगाइएको बूढाको भनाइ छ ।

बूढाले मात्रै झण्डै १०० रोपनी क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । बूढाजस्तै ताराखोलाका सयौँ किसानले बिक्री गर्नेभन्दा पनि घरमै खाने आलु नभएको गुनासो गरेका छन् । अत्यधिक वर्षात्का कारण आलु उत्पादन नभएपछि आलुको जोन क्षेत्रका रुपमा रहेको ताराखोलासहित बागलुङका अन्य क्षेत्रका किसान ठूलो मारमा परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

अहिले बागलुङमा आलु उत्पादनमा भारी गिरावट आएपछि प्रतिकिलो आलुको खुद्रा मूल्य रु १०० पर्न गएको बागलुङ बजारका आलु व्यापारी ऋषिराम जैशीले बताउनुभयो । जिल्लामा उत्पादन हुने आलु यस वर्ष उत्पादनमा ह्वात्तै कमी आएपछि अन्य जिल्लाबाट आलु मगाएर बिक्री गर्दा बढी मूल्य पर्न गएको जैशीको भनाइ छ । आलुको बीउसमेत बचाउन मुस्किल भएको ढोरपाटनका आलु कृषक जीवनकुमार पुनले जानकारी दिनुभयो । करिब ४५ रोपनी जग्गामा आलुखेती गर्दै आउनुभएका उहाँले अब वर्षभरलाई पुग्ने आलुको बीउ मात्रै भए पनि जोगाउन समस्या भएको बताउनुभयो । धेरैले व्यावसायिक रुपमा आलुखेती गर्दै आए पनि आफूले परिवारका लागि मात्र तीन रोपनी जग्गामा आलुखेती गरेको र यस वर्ष मकैको दानाजस्तो आलु फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले गुनासो गर्नुभयो ।

यस्तै आलुको जोन क्षेत्रमा रहेको गलकोट नगरपालिका–१० पाण्डवखानीमा समेत आलु पाउनै मुस्किल रहेको स्थानीय रेशम रानाले जानकारी दिनुभयो । “पाउँनालाई खुवाउने आलुसमेत छैन बेच्नेको त कुरै छाडौँ”, रानाले भन्नुभयो “आलुबेचेरै जीविका चलाउँदै आएका यहाँका कृषिक यस वर्ष आलु नफल्दा मारमा रहेका छन् ।” आलुको छवटा जोनबाहेक काठेखोला गाउँपालिकाको धम्जा र गलकोट नगरपालिका–८ मिलनचोकलाई आलुको पकेट क्षेत्रका रुपमा लिइएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका सूचना विश्वास काफ्लेले पनि यस वर्ष आलु उत्पादनमा नसोचेको गिरावट आएको बताउनुभयो । “यो वर्ष पूर्व अनुमान गरिए भन्दा अत्यधिक वर्षा भयो, जसका कारणले आलु हुर्कन र फल लाग्नेमा समस्या देखियो”, काफ्लेले भन्नुभयो, “जसका कारण बागलुङका आलु जोनमै ६० प्रतिशतभन्दा बढी आलु उत्पादन घटेको छ । यसले गर्दा अहिले आलु खान मात्रै होइन, बीउसमेत कसरी बचाउने भन्ने पिरलो किसानमा देखिएको छ ।” अहिलेको समस्यामा किसानलाई कसरी राहत अनुदान दिने भन्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । आलुको जोन हुनका लागि ५०० हेक्टरमा आलुखेती गरेको हुनुपर्छ आलुको पकेट क्षेत्र हुनका लागि १० हेक्टर जमिनमा आलुखेती गरेको हुनुपर्दछ ।