गाडी उत्तरगङ्गा नदी तरेपछि नागरिक खुशी

गाडी उत्तरगङ्गा नदी तरेपछि नागरिक खुशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्थानीय पुथाउत्तरगङ्गा गाउँपालिकामा उत्तरगङ्गा नदी तरेर सवारीसाधन पुगेपछि त्यहाँका बासिन्दा खुशी भएका छन् । वर्षा शुरु भएदेखि नै नदीमा बढेको पानीको बहाबले सवारीसाधन वारपार गर्न सकिरहेका थिएनन् । वर्षा हटेसँगै उक्त नदीमा पानीको बहाब पनि घटेकाले सवारीसाधनलाई वारपार गर्न सजिलो भएको उक्त गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो ।

उक्त गाउँपालिकामा असारको महिनादेखि ठप्प रहेका यातायातका साधन असोज अन्तिम सातादेखि नियमित सञ्चालनमा आएको उहाँको भनाइ थियो । अहिले रुकुमकोटबाट उक्त गाउँपालिकाको वडा नम्बर १३ को नयाँ बजारसम्म सवारी साधन सञ्चालन भएको छ ।

वर्षाको समयमा ग्रामीण सडक र सहिदमार्गमा झरेको पहिरोले गर्दा उक्त गाउँपालिकामा यातायात सेवा ठप्प रहेको थियो । बेलाबेलामा डोजरले पहिरो हटाए पनि मुस्किलले उत्तरगङ्गाको वारिसम्म मात्र सवारी साधन चलेकाले त्यहाँका बासिन्दालाई आवत–जावत गर्न र सामान ढुवानी गर्न कठिन भएको र आवश्यक सामाग्रीको अभावसमेत बेहोर्नुपरेको वडा नम्बर १३ नयाँ बजारका सुमन बुढाले बताउनुभयो ।

उक्त नदीमा पक्की पुल निर्माण हुन नसक्दा त्यहाँका बासिन्दाले वर्षैपिच्छे यस्तो समस्या भोग्दै आएका छन् । पैदल यात्रीहरूले झोलुङगे पुलबाट नदी वारपार गर्ने गरिरहेका छन् । उक्त नदीमा पुल निर्माणका लागि डीपीआर तयार भइसकेको छ । सहिदमार्ग निर्माण कम्पनीले नै नदीमा मोटरेबल पुल निर्माण गर्ने भएको हो तर पुल निर्माणको विषयलाई लिएर त्यहाँका बासिन्दामा विवाद चलिरहेको छ । डिपिआर गरेकै ठाउँमा पुल निर्माण गर्नुपर्ने एक पक्षको माग छ भने केही माथि पुल निर्माण गरिनुपर्ने अर्को पक्षको माग रहेकाले बोलपत्र आह्वानमा ढिलाइ भइरहेको हो ।

सो विवादलाई मिलाएर छिटोभन्दा छिटो पुल निर्माणको कामलाई अघि बढाउने भन्दै प्रतीनिधिसभा सदस्य कमला रोकाले दुबै पक्षका नागरिकसँगको छलफललाई जारी राख्नुभएको छ । उहाँले गतसाता मात्रै त्याहाँका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ ।जिल्लामा वर्षाका कारण अवरुद्ध ग्रामीण सडक मर्मतको कार्यले तीव्रता पाएको छ । जिल्लाका तीनवटै स्थानीय तहले ग्रामीण सडक मर्मत गरी सडक सञ्चालनमा ल्याएका छन् ।

नेपालीको महान पर्व दशै र तिहार नजिकिएसँगै नागरिकको सहजताको लागि ग्रामीण सडक मर्मतको कामलाई तीव्र पारिएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । यस्तै भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले पनि दशै, अगाडि सबै अवरुद्ध ग्रामीण सडक सञ्चालन गर्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो । रासस