दशैँले नछोएको बोटे बस्ती

दशैँले नछोएको बोटे बस्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दशैँ भित्रिएको छैटौँ दिन हुँदा समेत माहिन्द्रीगङ्गा (मादीनदी) को किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले बजार नजिकैको बोटेगाउँका बोटेहरुलाई भने दशैँले छुन सकेको छैन । विगतमा मजदूरी गरेर जसोतसो वर्षेनी रमाइलो र खुसी साथ दशँै मनाउँथे उनीहरु । यस वर्ष लकडाउनले काम नपाएपछि आम्दानी छैन । खर्च जुटाउन नसक्दा दशैँका बेला समेत यस बस्तीमा चाडपर्वको रौनक देखिएको छैन ।

घरमा सात जना रहेको बताउनुहुने ५२ वर्षीया सीताकुमारी बोटेले वर्षेनी ज्यालामजदूरी गरेर दशँै मनाउँदै आएपनि यस वर्ष लकडाउनले काम नपाएको दुखेसो गर्नुभयो । “अरु आम्दानी पनि भएकोले दशैँ कसरी मनाउने भन्ने चिन्ता छ, त्यहीमाथि सासुआमा बिरामी हुनुहन्छ”, उहाँले भन्नुभयो । त्यस्तै आरती माझीले पनि महामारीका कारण काम नपाउँदा चाडपर्व खल्लो भएको बताउनभुयो । “दशैँ मनाउने भनेर जमरा त राखेको छु, तर पैसा नहुँदा कसरी मनाउने अन्योलमा छु”, उहाँले भन्नुभयो । लामो समयदेखि काम गर्न नपाउँदा ऋण गरेर खादै गरेपनि अहिले त्यही ऋण पनि तीर्न नसक्दा खानाका लागि नुन, तेल, चामल समेत सकिन लागेको उहाँको भनाइ थियो । सीतामाया र आरती जस्तै यहाँका खड्का बहादुर, मिलनबहादुर, बिजुला लगायतका बोटेहरुको समस्या उस्तै छ । बोटे समुदायका अध्यक्ष झङ्कबहादुर बोटेले सो क्षेत्रमा ३० घरपरिवार रहेकोमा १५ घरलाई दशै मनाउनका निकै समस्या भएको छ । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउ ।

विगतमा मादीमा पुल नहुँदा त्यसक्षेत्रका वासिन्दालाई डुङ्गाबाट वारपार गराउने, मादी र रिस्ती खोलामा माछा मारेर दुईपिप्ले, दोभान, चर्दीपसल, सोतीपसल, तनहुँका दुलहीपानी, सत्रसय र सिसाघाट लगायतका स्थानीय बजारहरुमा बिक्री गर्दै जीवन निर्वाह गर्दै आएपनि पछिल्लो समयमा माछा मार्ने पेशा समेत धरापमा पर्दे गएपछि ज्यालामजदूरी गर्दै आएको बोटे समुदायको भनाइ छ । गरिबीकै कारणले दुईपिप्ले बजार क्षेत्रका ‘भूमिपति’ भनिएका बोटे समुदायका अधिकांशले जमिन समेत बिक्री गरिसकेको इन्द्रमायाले बताउनुभयो । न काम न दाम हुँदा दशैँ पनि नभएको जस्तो हुन थालेको उनीहरुको भनाइ छ ।

अशिक्षा र गरिबीकै कारणले यो समुदाय पछिल्लो समयमा विपन्न बन्दै गएकाले दशँै मनाउनलाई समस्या हुन थालेको मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “दशै मनाउन बोटे समुदायलाई राहतको आवश्यकता छ, उनीहरुको समस्याको बारेमा नगरपालिकामा कुरा राखेको छु ।”