दमौली अस्पतालमा दाँतको उपचार हुने

दमौली अस्पतालमा दाँतको उपचार हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको दमौली अस्पतालमा दन्तसेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालमा सेवा सुविधा थप गर्ने उद्देश्यबमोजिम दाँतको उपचारका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा पूर्वाधार थप गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि डिजिटल एक्सरे मेशिन खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उक्त मेशिनलाई करीब रु ५० लाख पर्नेछ ।
विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेशिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

स्वास्थ्य केन्द्र भवन बनाउन जग्गा दान

बन्दीपुर गाउँपालिका–१ पिप्लेमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि स्थानीयवासीले जग्गादान गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष थापाले चार आना, मदन थापाले साढे तीन आना, अमर थापाले साढे तीन आना र नहलसिंह मगरले दुई आना जग्गा दान गर्नुभएको छ । सरकारको उद्देश्यबमोजिम उक्त वडामा स्वास्थ्य केन्द्र निर्माणको काम शुरु भएको हो । गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले स्थानीयवासीले करिब रु ३९ लाख बराबरको दान गरेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त भवनको शिलान्यास गर्नुभयो । प्रत्येक वडामा स्वास्थ्य केन्द्र बनाउने सरकारको लक्ष्य रहेको मन्त्री चुमानले सो अवसरमा बताउनुभयो । रु ३५ लाखको लागतमा निर्माण हुने भवन चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ । भवन एक तल्ला र चार कोठाको हुनेछ । गाउँपालिका–५ मा पनिस्वास्थ्य केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाका मजदुरको पिसीआर परीक्षण

तनहुँ जलविद्युत आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदूरको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । पिसीआर परीक्षण गर्न ती मजदूरले माग गर्दै आएकाा थिए ।
आयोजनाका प्रमुख अच्युत घिमिरेले हाइड्रोतर्फका ७१ मजदूर र आयोजना तर्फका चार जनाको स्वाब परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो । उनीहरुलाई रिपोर्ट आएपछि मात्रै काममा लगाइनेछ । आयोजनाले कोरोना सङ्क्रमित राख्न क्याम्पभित्रै आइसोलेशन कक्ष बनाएको छ ।