पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १८ कात्तिक । पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा सङ्घ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको थियो ।

निर्माण सम्पन्न भएकोमध्ये १७ किलोमिटर पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । अहिले खोलिएको पदमार्गबाट प्रसिद्ध पर्यटकीयस्थल भमरकोटसम्म पुग्न सकिन्छ । देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्ग अब एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको छ । अहिलेसम्म १७ किलोमिटर पदमार्गको काम सकिएको र अझै ११ किलोमिटरको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । “प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, सङ्घबाट छुट्टिएको रु १० लाखले थप काम भएको छ”, उहाँले भन्नुभयोे, “सङ्घ र प्रदेशले आवश्यक बजेट विनियोजन गरे एक वर्षभित्रमै काम सकिनेछ ।” पदमार्गमा झण्डै रु साढे दुई करोड खर्च हुने अनुमान छ । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ ।

अर्कोतर्फ देउपुर हुँदै भमरकोटबाट माटेको लेकसम्मको ११ किलोमिटर पदमार्गले जोडिसकिएको छ भने माटेबाट जलजला हँुदै घोरेपानी जोड्न अब करिब ११ किमी दूरी बाँकी छ । जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेको खड्काले बताउनुभयो । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । पदमार्गले आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ठूला घाँसेमैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । विभिन्न प्रजातिका चराचुरुङ्गी र जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइने उहाँले बताउनुभयो ।

यसैबीच हालै गृहजिल्ला आउनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जङ्गलमै बास बसेर उक्त पदमार्गको अवलोकन गर्नुभएको छ । पदमार्गको अवलोकन साथै प्रचारप्रसार गर्न तिमिल्सिनासँगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीलगायतको टोली एक रात जङ्गलमै बास बसेर पदमार्गको अवलोकन गर्नुभएको हो । बिहानको सूर्योदय र बेलुकाको सूर्यास्तसँगै टोलीले तीन हजार १०० मिटरको उचाइमा रहेको माटेसम्म पुगेको थियो ।

पदमार्गको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकीय क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएकाले पहिचान भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने गरी योजना बनाउन आफूले पहल गर्ने बताउनुभयो । “भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा सडकको सम्भावना धेरै कम भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयोे, “यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ ।” पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने योजना अघि सारिएको उहाँले बताउनुभयो ।

भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर बस्ती भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, घुरु(ङ्गालगायतका ठाउँमा घरबास (होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन थालिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो ।

मोदीमा पाँचदिने ‘लकडाउन’

पर्वतको मोदी गाउँपालिकामा कोरोना सङ्क्रमण फैलन नदिन पाँच दिन लकडाउन गरिएको छ । मोदी गाउँपालिकाले गरेको कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्क पहिचान (कन्ट्याक्ट टे«सिङ) को काम भइरहेकाले समुदायमा सङ्क्रमण फैलन नदिन सोमबार राति १२ बजेदेखि पाँच दिन लकडाउन गरिएको हो ।

मोदी गाउँपालिकाको पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले पाँच दिनसम्म पालिकाका सबै सेवा र अत्यावश्यकबाहेक सबै पेशा व्यवसाय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँपालिकाका अुनसार सबै वडा कार्यालयको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक सङ्घसंस्थाबाट प्रदान गरिने सेवा, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवं सहकारीबाट प्रदान गरिने सेवा कात्तिक २२ गते राति १२ बजेसम्म बन्द हुनेछन् ।

यसैगरी गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला र अम्बोटजस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा र वस्तुबाहेकका पसल पनि बन्द हुने भएका छन् भने गाउँपालिकाकोे विभिन्न शाखा सडकबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिकाभित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक नलगाइएको क्षेत्रीले बताउनुभयो ।

अत्यावश्यक काममा बाहेक पाँच दिन छिमेकी स्थानीय तह एवं जिल्लाबाट मोदी गाउँपालिकामा आवतजावत नगरिदिन पनि अनुरोध गरिएको छ । गाउँपालिकामा गरिएको सम्पर्क पहिचानका दुई जनामा कोरोना पुष्टि भएको र आगामी दिनमा सङ्क्रमण अझै उच्च हुनसक्ने भएकाले सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको पालिकाले जनाएको छ । रासस