मकवानपुरगढी गापाले रोक्यो बालविवाह

मकवानपुरगढी गापाले रोक्यो बालविवाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कानूनीरुपमा दण्डनीय र सामाजिकरुपमा समस्याको रहेको बालविवाह रोक्न गाउँपालिका आफैँले सक्रियता देखाएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आज बुधबार बालविवाह रोकेको हो । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको नेतृत्वमा गएको टोलीले गाउँपालिका—१ गुर्दुम डाँडामा भएको बालविवाह रोकेको गाउँपालिकाका कानूनी सहजकर्ता रामशरण शर्माले बताउनुभयो ।

बालविवाह गरेका किशोरको परिवारले बालविवाह रोकिदिन आग्रह गरेपछि गाउँपालिकाकी उपाध्यक्ष रुम्बा, वडा नं. १ का अध्यक्ष आइतसिं लो, गाउँपालिकाको महिला, बालबालिका शाखाकी प्रमुख मन्दिरा थापा, कानूनी सहजकर्ता रामशरण शर्मासहितको टोली सक्रिय भएको थियो ।

गाउँपालिकाका १८ वर्षीय किशोर र छिमेकी गाउँपालिका बकैया–४ की १७ वर्षीया किशोरीबीच भएको बालविवाह रोकिएको गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बताउनुभयो । बकैयास्थित आफन्तको घरमा गएको बेला बालविवाह गरेको खबर पाएपछि किशोरका परिवार तथा साथीहरुले किशोरलाई विवाह रोक्न सम्झाएका थिए । किशोरले नमानेपछि गाउँपालिकाकै पहलमा बालविवाह रोकिएको हो ।

बालविवाह गरेका किशोरीलाई मनोसामाजिक परामर्शका लागि हेटौंडास्थित सिविन बाल हेल्पलाइनको कार्यालयमा पठाइएको छ । किशोरीलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष रुम्बा आफैँ सिविन बाल हेल्पलाइनको कार्यालय पुग्नुभएको थियो ।