– मीना घोरसाइने
चितवनकी एउटी सामान्य चेपाङ समुदायकी महिला । त्यसमाथि लेखपढ नगरेकी । पर्यावरणमा नै असर हुने गरी विगत एक दशक अघि रितिदै गएको वनको संरक्षणमा जुटनुभएकी उहाँका लागि त्यो समय कम चुनौतीपूणर् थिएन ।
समाजको त कुरै छाडौँ । परिवारले पनि शुरुवातमा उहाँको क्रियाशीलता रुचाएको थिएन् । यो सङ्घर्षको कथा हो, राप्ती नगरपालिका १० कोराककी ५१ वर्षीय वनमाया चेपाङको । विसं २०५४ तिर कोराकमा सामुदायिक वन गठन गर्ने कुरा चलिरहेको थियो । विसं २०५० देखि सामाजिक काममा सहभागी बन्दै आउनुभएकी उहाँले पनि त्यहाँको सत्यदेवी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा महत्वपूणर् योगदान दिनुभएको छ ।
चोरीबाट नासिँदै गएको त्यहाँको सरकारी वनलाई सामुदायिक वनका रुपमा संरक्षण गर्नुपर्छ भन्ने त्यहाँका जनतामा एकरुपता आइसकेपछि सत्यदेवी सामुदायिक वनका रुपमा हस्तान्तरण गर्न उहाँ लगायतले दुई वर्षसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो । आफ्नो निजी खर्चमा जिल्ला वन कार्यालय धाउने गरेको चित्र उहाँको मानसपटमा ताजै छ ।
“कहिले भाडा जुटाउन कुखुराको भाले बेचेर त कहिले बाख्रा बेचेर रकम जुटाउने गरिन्थ्यो”, उहाँ भन्नुहुन्छ, “नेपाली समुदायमा जातित्वका आधारमा विभेद त छ नै त्यसमाथि पनि महिला भएकै कारण यसले के गर्न सक्छ र भन्ने मानसिकताले हामीलाई दबाउन खोजिन्थ्यो ।” विसं २०५६ मा उक्त सामुदायिक वन समुदायलाई हस्तान्तरण गरिसकेपछि बनेको ११ सदस्यीय समितिमा उहाँले कोषाध्यक्ष भएर आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो ।
शुरुआतमा वनको क्षेत्र निर्धारणका विषयमा जानकार नभएका त्यहाँका स्थानीयवासीले गाउँको सीमाका आधारमा वनको क्षेत्र निर्धारण गरेको थियो । उहाँको तीन वर्षे कार्यकालले विशेष गरी काठ तस्करी रोक्न महत्वपूणर् योगदान दिएको थियो । आदिवासीको प्रमुख बाहुल्यता रहेको उक्त क्षेत्रमा महिलाको तर्फबाट उहाँ नेतृत्वमा आइसकेपछि अन्य महिला पनि वन संरक्षणमा एकजुट हुन थालेका थिए ।
वनका काठदाउरा चोरी तस्करी नियन्त्रण गर्न उक्त समय पुरुष र महिलाको छुट्टाछुट्टै समूह बनाएर हप्ताको एकपटक गस्ती जाने नियम बनाइएको थियो । सो समयको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “महिलाको पालो भएको दिन वनको अनुगमन नगरी हल्ला मात्र गरेर आउँछन् भनेर गाउँका पुरुषले हामीलाई होच्याउने गर्थे, तर हामीहरु भने क्रियाशीलरुपमा दुई तीनजना महिलाको पुनः छुट्टाछुट्टै समूह बनाएर गस्ती गथ्र्यौं ।”
गस्तीका क्रममा तस्करसँग मुठभेट हुँदा एकदिन उहाँमाथि आक्रमणसमेत भएको थियो । आक्रमणबाट उहाँको दाहिने हात र दाहिने खुट्टामा गहिरो चोट लागेको थियो । आक्रमणपछि वन संरक्षणमा थप ऊर्जा मिलेको उहाँ बताउनुहुन्छ । गस्तीका क्रममा धेरै तस्करलाई पक्राउ गरी कारवाहीको दायरामा समेत ल्याइएको थियो ।
त्यसपछि भएको वनको अर्को साधारणसभाले उहाँलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । उपाध्यक्षमा नियुक्त भइसकेपछि उहाँलाई सामुदायिक वन जिल्ला महासङ्घमा जाने बाटो खुलेको यियो । जिल्लाको नेतृत्वमा जाने क्रममा उहाँले थुपै्र चुनौतीको समेत सामना गर्नुभएको थियो । जिल्लामा जाने प्रस्ताव राख्दा महिला भएकै कारण नेतृत्व गर्न नसक्ने भन्दै उहाँको प्रस्ताव अस्वीकार गरिएको थियो तर जिल्लामा गएर काम गर्न सक्छु भन्ने उहाँको आँट थियो ।
जिल्लामा गइसकेपछि पनि उहाँलाई कोषाध्यक्ष बनाउनुपर्ने प्रस्ताव राख्नुभयो तर उहाँको पढाइ नभएका कारण त्यो पदमा उहाँको योग्यता नपुन्ने ठहर अन्य महिला दाबेदारले विरोध जनाएका थिए तर महिला भएर महिलाकै विरोध गर्न नहुने भनाइ उहाँले राखेपछि कोषाध्यक्षमा नियुक्त गरिएको थियो । जिल्लाको कोषाध्यक्षमा उहाँले तीन वर्ष बिताउनुभयो ।
जिल्लामा पनि नेतृत्वका क्रममा जातित्वका आधारमा उहाँलाई धेरै नै विभेद गरियो । जिल्लाको महत्वपूणर् बैठकमा समेत उहाँलाई बोलाइँदैनथ्यो । जति नै विभेद भए पनि आफू सधैँ काममा तत्पर भएर लागेको उहाँको ठहर छ । विसं २०६३ मङ्सिरमा हुन लागेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको अधिवेशनले जिल्लाका प्रतिनिधि पनि पठाउन अनुरोध गरिएको रहेछ । कसलाई प्रतिनिधि पढाउने भन्ने विषयमा जिल्लामा बैठकसमेत भइसकेको रहेछ तर बैठकमा पनि उहाँलाई बोलाइएन ।
विभिन्न व्यक्तिमार्फत जानकारी पाइसकेपछि उहाँले जिल्लामा फोन गरेर आक्रोश व्यक्त गर्दै भन्नुभयो, “के तपाईंले चेपाङ महिला भनेर हेप्नुभएको हो ?” जातित्वको आधारमा भेदभाव गरेको नभई टाढा भएका कारण खबर नगरेको प्रतिउत्तर उताबाट आएको थियो । टेलिफोन वार्ताकै क्रममा बैठकबाट उहाँलाई प्रतिउत्तरको विरोध गर्दै जसरी पनि आफूलाई केन्द्रीय समितिको अधिवेशनमा पठाउनुपर्ने माग राख्नुभयो । त्यसपछि उहाँलाई केन्द्रीय समितिको अधिवेशनका लागि सिफारिस गरिएको रहेछ । काठमाडौँमा भएको अधिवेशनले उहाँलाई केन्द्रीय सदस्यका रुपमा मनोनीत गर्यो । हालसम्म पनि उहाँ महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्छ ।
यहाँसम्मको सङ्घर्षका क्रममा उहाँले सामाजिक मात्र नभई पारिवारिकरुपमा पनि थुप्रै समस्या झेलिसक्नुभएको छ । दुई छोरा र एक छोरी सानै भएकाले सामाजिक कामको लागि एकातिर समस्या त थियो नै अर्कोतिर उहाँको बुबाले श्रीमान्लाई महिला घरभन्दा बाहिर गए भने बिग्रन्छन् भनेर भड्काएपछि मानसिक मात्र नभई शारीरिक यातनासमेत खेप्नुभएको थियो ।
त्यस्तै विभिन्न बैठकमा गएर आइसकेपछि चेपाङका श्रीमान्ले उहाँले बनाएको खानासमेत नखाने, बनाएको गुन्द्री जलाइदिने, गरेको कामसमेत बिगारिदिने गर्नुहुन्थ्यो तर उहाँको क्रियाशीलताले समाजमा इज्जत बढ्दै गएपछि आज उहाँको श्रीमान् स्वयं क्रियाशील हुन आग्रह गर्नुहुन्छ ।
चेपाङ बालबालिकाले पढ्न नपाएको समयमा वनको क्रियाशीलतासँगै मेलापात र जाँडरक्सी बेचेर नै तीन सन्तानलाई पढाउनुभएको थियो । उहाँले छोराछोरीलाई पढाउन थालेसँगै त्यहाँका अन्य व्यक्तिले पनि पढाउन शुरु गरेका थिए ।
वनको संरक्षणमा लाग्ने क्रममा नै उहाँले तीनदिन प्रौढशिक्षा पढ्नुभएको थियो । त्यही तीनदिनको पढाइले नै आज उहाँ नेपाली भाषा सामान्य लेखपढ गर्नसक्ने हुनुहुन्छ । त्यही पढाइले जिल्ला वन कार्यालयमा जागीरको अवसरसमेत पाउनुभएको थियो । लिखित र अन्तर्वार्तामा समेत पहिलो नम्बरमा नाम निकाल्न सफल उहाँलाई छोराछोरी छोडेर जागीर खान श्रीमान्ले पठाउनुभएको थिएन । सो घटनाले उहाँ मानसिकरुपमा विक्षिप्त हुन पुग्नुभयो । फलस्वरुपः तीनदिनसम्म उहाँ बेहोस नै हुनुभयो ।
उहाँ थप्नुहुन्छ, “सायद त्यतिबेला जागीर खान पाएको भए म प्रशासनिकरुपमा पनि धेरै माथि पुगिसक्ने थिएँ ।” जे जस्तो भए पनि आफूले गरेको सामाजिक कामबाट आफू निकै सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । आज वनमायाकै नामबाट उहाँको परिवार मात्र नभई सिङ्गो कोराकलाई नै चिनाएको छ ।
पहिले घरगृहस्थीमा मात्र सीमित उहाँको समय सामाजिक काममा नै बित्ने गरेको छ । आजभोलि उहाँको परिवारले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारी खेती र बाख्रापालनलाई जोड दिएको छ । पहिले गिठ्ठाभ्याकुर खाएर जीवन निर्वाह गर्ने उहाँको परिवारले अहिले आफैँले धान, कोदो, मकैलगायतको उत्पादन गर्ने गरेको छ । वनका विविध कार्यक्रमलगायत अन्य कार्यक्रममा समेत प्रमुख अतिथिका रुपमा आफ्ना अनुभव र सङ्घर्षका कथा राख्ने अवसर उहाँले पाउनुभएको छ । उहाँ आफूले आफूलाई वनको संरक्षक भनेर चिनाउन रुचाउनुहुन्छ । रासस
प्रतिक्रिया